
आइतवार , पौष २१, २०८१
भैरहवा, २१ पुस । ओम बहुउद्देश्यीय सहकारी संस्था लि. बुटवल उपमहानगरपालिका–४, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार बुटवलमा साधारण सभाको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा उपप्रमुख अर्यालले ओम बहुउद्देश्यीय सहकारी संस्था लि.को टीम राम्रो रहेको बताइन् । ‘डाक्टर, इन्जिनियर, बौद्धिक व्यक्तित्वहरु यो सहकारी हुनुहुन्छ, यो सहकारी मात्र नभइ देश बनाउने टीम हो’उनले भनिन्, ‘युवाको टीमलाई अझै समेट्नुस् । राम्रो भूमिका खेल्नुहोस् ।’
उपप्रमुख अर्यालले सहकारीमा पैसा मात्र जम्मा भएर ऋण प्रवाह हुन नसके वा ऋणीले समयमै किस्ता–ब्याज नतिरे समस्या हुने बताइन् । ‘बैंक तथा वित्तीय संस्थामा पैसा छ, तर बजार चलायमान हुन सकेको छैन, सहकारीहरुमा समस्या आएको छ’उनले भनिन्, ‘हावाको पछाडी नलागौं, सही कुराको पछाडी लागौं ।’ आफू उपमहानगरपालिकाको अनुगमन समितिको संयोजक भएकोले बजार तथा वित्तीय क्षेत्रको अनुगमन गर्दै आएको बताइन् । बुटवल उपमहानगरपालिका शिक्षा, खेलकुद, स्वास्थ्य लगायत सबै क्षेत्रमा अब्बल हुने उनले दावी गरिन् । उपमहानगरपालिकालाई समयसमयमा सल्लाह–सुझाव दिन र कहीकतै राम्रो काम भएको पाइए जानकारी गराउन उनले आग्रह गरिन् ।
विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका–४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले ओम बहुउद्देश्यीय सहकारी संस्था लि.ले फड्को मार्दै गएको बताए । ‘हामीलाई गर्व छ । वडा नम्बर ४ मा केन्द्रीय कार्यालय यो यो संस्था अझ अगाडि बढ्दै जाओस्’उनले भने, ‘यो सहकारी शेयर सदस्यहरुको भावना अनुसार अघि बढेको छ ।’ उनले काम गर्दा संस्थाको उद्देश्य अनुसार र शेयर सदस्यको भावना अनुसार सहकारी निरन्तर अघि बढ्नुपर्नेमा जोड दिए ।
साधारण सभामा सञ्चालक समितिकोतर्फबाट आर्थिक वर्ष (आ.व. २०८०/०८१) को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ओम बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष राजेन्द्र ढकालले यो संस्थाले आफ्नो शेयर सदस्यको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि आफ्नो जुन उद्देश्यमा कर्जा रकम लिएको हो सोही परियोजनामा मात्र लगानी वा खर्च होस् भन्ने चाहेको बताए । उनले यस संस्थाको हाल बुटवल केन्द्रीय कार्यालय र भैरहवामा एउटा सेवा केन्द्र रहेको जानकारी दिए ।
त्यस्तै आ.व. २०८१/०८२ का लागि लक्षित कार्यक्रम योजनाहरु प्रस्तुत गर्दै अध्यक्ष ढकालले संस्थाको मेरुदण्ड भनेकै शेयर सदस्यहरु रहेकोले यस वर्ष शेयर सदस्य वृद्धिका लागि सञ्चालक समिति, कर्मचारी र शेयर सदस्यहरुले अनिवार्य रुपमा शेयर सदस्य थपका लागि प्रस्ताव पेश गरे ।
त्यसै गरी वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष मदन आचार्यले आ.व. २०८०/०८१ मा ७८९ जना शेयर सदस्यहरुबाट प्राप्त शेयर पूँजी रु. २ करोड ४ हजार १ सय पुगेको बताए । त्यस्तै गत आ.व.मा संस्थाले कुल निक्षेप (अनिवार्य बचत र अन्य बचत) गरी रु. २ करोड ८९ लाख २५ हजार ४ सय ६८ संकलन गरेको जानकारी दिए ।
कार्यक्रममा संस्था सल्लाहकार तथा बुटवल–४ का निवर्तमान वडाअध्यक्ष टंक प्रसाद पराजुलीले संस्था स्थापना गर्नु ठूलो कुरा नभइ उद्देश्य अनुसार अघि बढ्नु ठूलो करा भएको धारणा राखे । उनले अवसरका लागि धेरै चुनौती पार गर्दै जानुपर्नेमा जोड दिए । ‘यो सहकारी बलियो छ । यसको शेयर पूँजी धेरै छ ’उनले भने, ‘अब सहकारीले उत्पादनको क्षेत्रमा विशेष ध्यान दिनुपर्छ ।’
संस्थाका ऋण उपसमिति संयोजक नेधिराम ज्ञवालीको स्वागत तथा सचिव लक्ष्मण सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, शेयर सदस्य दिनेशमणि सुवेदी, कल्पना पौडेललगायतले बोल्दै संस्थाले सामाजिक कार्यहरु पनि गर्दै आएको बताए ।
कार्यक्रममा संस्थाको भैरहवा सेवा केन्द्रका प्रबन्धक सरोज ठकुरी, बुटवल कार्यालय प्रबन्धक लीला खनाल र बजार प्रतिनिधि अनिता परियारलाई नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij