२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

त्रिशुल सहकारीको १६ औं साधारण सभा सम्पन्न

आइतवार , पौष २१, २०८१

भैरहवा, २१ पुस । श्री त्रिशुल बचत तथा ऋण सहकारी संस्था लि.सिद्धार्थनगर–९, रुपन्देहीको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार भैरहवामा भएको साधारण सभाको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले उद्घाटन गरेकी थिइन् । 

कार्यक्रममा उपप्रमुख अधिकारीले पछिल्लो समय सहकारीप्रति जनताको विश्वास गुमेको बताइन् । जति ढाँटे पनि, ठूलो कुरा गरे पनि सहकारीप्रति जनताको विश्वास घटेको छ ’उनले भनिन्, तपाईहरु इमान्दार हुनुहुन्छ । इमान्दार व्यक्तिहरुको पछाडि धेरै कम मान्छे लाग्छन् । इमान्दार मान्छेलाई सहज रुपमा गन्तव्यमा पुग्न सहज हुँदैन । तर, अवश्य नै पुगिन्छ ।’ 

उनले त्रिशुल बचत तथा ऋण सहकारी संस्थामा महिला सदस्यहरुको संख्या धेरै रहेको बताइन् । उनले सहकारीले स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र त्यसमा सिद्धार्थनगर नगरपालिकाले सहयोग गर्ने बताइन् । उनले कतिपय सहकारीमा ऋणीले ऋणको किस्ता र ब्याज नतिर्दा बचतकर्ताले बचत नपाएको अवस्था रहेको बताइन् । ‘सहकारीका शेयर सदस्यहरु पनि जिम्मेवार हुनुपर्छ’उनले भनिन्, सहकारी संस्था चलाउनु भनेको त्यति सजिलो काम होइन ।

अध्यक्षको प्रतिवदेन प्रस्तुत गर्दै त्रिशुल बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष धीरा कुमारी क्षेत्रीले सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि बचत तथा ऋण लगानीका माध्यमबाट सदस्यहरुलाई सेवा दिदै आएको यस संस्थाले अन्य सामाजिक गतिविधिहरु पनि गर्दै आएको बताइन् । उनले बचत तथा ऋण सहकारी संस्थाको मूल मर्म र सहकारीका अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई आत्मसात गर्दै संस्थाले आफ्नो सेवाहरु प्रवाह गर्दै आएको बताइन् ।

कार्यक्रममा सिद्धार्थनगर नगर सहकारी सञ्जाल समिति सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने, सहकारीका कानूनी सल्लाहकार लय प्रसाद भट्टराई लगायतले बोलेका थिए । कार्यक्रममा संस्थाका सचिव नलिन कुमार शर्मा, कोषाध्यक्ष शिवु कुमार विश्वकर्मा र लेखा संयोजक केशवराज चुदालीले प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सहकारीका उपाध्यक्ष धर्मेन्द्र कुमार श्रेष्ठको स्वागत तथा प्रबन्धक सरिता रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नियमित बचतकर्ता आशा पौडेल ढकाल, असल ऋणी महेश चौरसिया तथा उत्कष्ट कर्मचारी दुर्गा भुसाल र लक्ष्मी पौडेललाई सम्मान गरिएको संस्थाकी प्रबन्ध सरिता रानाले जानकारी दिइन् । वि.सं. २०६५ सालमा स्थापना भएको त्रिशुल बचत तथा ऋण सहकारी संस्था लि.मा हाल २ हजार ७ सय जना शेयर सदस्यहरु छन् ।