२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरमा एउटै शाखाका ५९ योजना कार्यान्वयनमा

सोमवार , पौष २२, २०८१

भैरहवा, २२ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पूर्वाधार विकास तथा पूँजीगत रकम खर्चलाई तीव्रता दिएको छ । पूँजीगत बजेटको लक्ष्य हासिल गरी असारे विकासलाई कम गर्न सयममै ठेक्का लगाउने, ठेक्का सम्झौता गरी काम अगाढी बढाउने काम अहिले धमाधम भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले जानकारी दिए ।

पालिकाहरुमा खास गरी समयमै ठेक्का नखोल्ने र विभिन्न बहानामा बजेट फ्रिज गराउने समस्या छ । त्यस्ता समस्या रोक्न सिद्धार्थनगरले आर्थिक वर्ष (आ.व.) को सुरुवातदेखि नै ठेक्का लगाउने काम गरेको नगरप्रमुख खानले बताए । नगरपालिकामा चालु आ.व. मा पूर्वाधार विकास शाखामा मात्रै ५९ वटा योजना कार्यान्वयनको चरणमा छन् । 

नगरपालिकाका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुख साकार श्रेष्ठका अनुसार यी सबै निर्माणतर्फका योजना हुन् । योजनाहरु नगरका १३ वटै वडामा सञ्चालनमा छन् । खास गरी सडक, ढल, नाला, भवन निर्माणतर्फका योजनाहरु कार्यान्वयनमा आएका हुन् । जसमध्ये वडा नम्बर ३ मा रहेको अधुरो तेक्वान्दो भवनमा थप पूर्वाधार निर्माण, वडा नम्बर ३ मा रहेको सिद्धार्थ बसपार्कको स्तरोन्नति र वडा नम्बर ११ मा बन्न लागेको कान्जी हाउस, शवदाहस्थल र पार्क निर्माण रहेका छन् । कान्जी हाउसमा छाडा पशु चौपायका लागि सेड र शवदाहस्थलतर्फ मलामी बस्ने प्रतिक्षालयका साथै जलाउने स्थानमा सेड निर्माण गरिनेछ ।

त्यस्तै नगरका विभिन्न वडालाई जोडेर ६ दशमलव ५ किलोमीटर एकतर्फी नाला निर्माण हुँदैछ । सडकतर्फ ग्राभेल सडक पाँच दशमलव ७ किलोमिटर निर्माण हँुदैछ । सडकतर्फ आरसीसी सडक पनि निर्माण हुँदैछ । सार्वजनिक सम्पत्ति संरक्षणको लागि १ सय ४० मिटर लामो पर्खाल निर्माण पनि यसै वर्ष गरिदैछ । 

विद्यालयतर्फ वडा नम्बर २ मा रहेको बहिरा बाल माध्यमिक विद्यालयमा चारकोठे भवनको तल्ला थप, वडा नम्बर ५ स्थित भैरहवा नमुना माध्यमिक विद्यालयमा चारकोठे भवनको छत ढलान र वडा नम्बर ११ स्थित भुजौली प्रा.वि.मा तीनकोठे तला थप्ने काम पनि धमाधम भइरहेको छ । 

त्यस्तै वडा नम्बर १० मा रहेको सुर्यदेव माध्यमिक विद्यालयमा दुईकोठे भवनको छत ढलान, वडा नम्बर २ मा रहेको मेउडिहवा आधारभूत विद्यालयमा शौचालय निर्माण र वडा नम्बर ८ मा रहेको रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयमा पनि शौचालय निर्माणको काम भइरहेको छ ।

Messenger_creation_5EC643D2-EBBD-4BE9-9812-FC04801D791E.jpeg