२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

उद्योग व्यापार संघ बुटवलले २०८२ मा व्यापार मेला गर्ने

सोमवार , पौष २२, २०८१

बुटवल, २२ पुस । उद्योग व्यापार संघ बुटवलले पाँचौं औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ आगामी २०८२ पुस ५ देखि १८ गतेसम्म गर्ने भएको छ । बुटवलका उद्योगी–व्यवसायीका मुख्य ४ संस्थाले  हरेक वर्ष आलोपालो मेला सञ्चालन गर्ने बुटवल उपमहानगरपालिकासँगको सहमति अनुसार  २०८२ साल पुसमा मेला गर्न लागेको संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।  

बुटवल मण्डपमा यस अघिका भन्दा फरक र विशिष्ट तरिकाले  सम्पन्न  गर्ने उद्देश्यका साथ तयारीका काम सुरू भएको र २५० स्टल बुक भइसकेको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णु प्रसाद पाण्डेले बताए । उनले मेला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकामा पुसमा मेला गत मंसिर ७ गते निवेदन दर्ता र मेलाको मिति तय भइसकेपछि २०८२ साल पुस ५ देखि १८ गतेसम्म मेला सञ्चालन गर्ने जानकारी पत्र पनि उपमहानगरलाई गराइसकेको अध्यक्ष  विष्णु प्रसाद पाण्डेले बताए । 

संघका निवर्तमान अध्यक्ष गोविन्द राज गैरेले बुटवलका ४ वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्ने नियमअनुसार २०७८  सालमा संघले चौथो मेला सफलतापूर्वक सम्पन्न गरेको र आगामी २०८२ मा पाँचौं मेला गर्न लागेको बताए । 

संघका संस्थापक अध्यक्ष खिम नारायण पराजुलीले २०८२ सालको मेला यस अघिको भन्दा फरक र उत्कृष्ट बनाउन एक वर्ष अघि बाटै तयारी थालेको बताए । ‘स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगीकरण तथा व्यापार विविधिकरण’को मूल नारा सहित संघले मेलामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने पराजुलीले बताए । 

संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जिसी, महासचिव यमलाल मरासिनी लगायतले बुटवलमा मेला तथा प्रदर्शनी गर्दै आएका अन्य तीन संस्था, सरोकारवाला सरकारी र गैरसरकारी निकायसँग सहकार्य गरेर मेलालाई हालसम्मकै उत्कृष्ट बनाउने गरी तयारी थालेको बताए ।