२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

सहकारीका सञ्चालकको कार्यकाल र बचत सीमा सम्बन्धी व्यवस्था संशोधन गर्न माग

बुधवार , पौष २४, २०८१

  • 598
    Shares
  • 598
    Shares
  • भैरहवा, २४ पुस । नेपाल सरकारले २०८१ पुस १४ गते जारी गरेको सहकारी सम्बन्धी ऐन तत्काल संशोधन गर्ने अध्यादेश–२०८१ मा भएका व्यवस्थाप्रति असहमति राख्दै सिद्धार्थनगर नगर सहकारी सञ्जाल समिति भैरहवा, रुपन्देहीले सिद्धार्थनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । समितिको पुस २१ गतेको कार्यसमितिको बैठकको निर्णय अनुसार सञ्चालक पदमा दुई कार्यकाल बस्न नपाउने व्यवस्था खारेज गर्न माग गरिएको छ ।

    सञ्जालले अध्यक्षको हकमा मात्र यस्तो व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । सञ्चालकको हकमा पनि एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाइने व्यवस्था मान्न सकिने सञ्जालले जनाएको छ । सञ्जालका अध्यक्ष कुलप्रसाद न्यौपाने र सचिव खिमबहादुर खत्रीद्वारा जारी विज्ञप्तीमा सबै सञ्चालकहरु अध्यक्ष नहँुदै सहकारी व्यवस्थापनबाट एकैपटक समिति बाहिर हुँदा सहकारीमा अझै अन्योलता बढ्ने दावी गरिएको छ ।

    जिल्लास्तरको सहकारी संस्थामा १० लाख, एक जिल्ला भन्दा बढी कार्यक्षेत्र भएको सहकारीमा २५ लाख र एक प्रदेशभन्दा बढीमा कार्यक्षेत्र भएको सहकारीमा ५० लाख बचत गर्न सकिने व्यक्तिगत सीमा तोकिएको अध्यादेशको व्यवस्थाप्रति पनि सञ्जालले असहमति जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘या त सबै तहको सहकारीमा व्यक्तिगत बचतको सीमामा एकरुपता ल्याउनुपर्ने अथवा सम्बन्धित सहकारीको विनियममा तोकिए अनुसार हुनुपर्छ ।’ सञ्जालले १० लाख भन्दा बढी रकम पनि श्रोत खुलाई राख्न पाउने व्यवस्था हुनुपर्ने माग गरेको छ ।

    d979f669-2d7f-4d81-83d4-f70e571d5a00.jpeg

    केही सहकारी संस्थाहरुमा संस्थागत सुशासन नहुँदा समस्याग्रस्त देखिएपछि सरकारले कसिलो ऐन ल्याउन हालै अध्यादेश जारी गरेको थियो । अध्यादेशका उल्लेखित दुई विषयहरुमा विरोध भइरहेको छ ।