
बुधवार , पौष २४, २०८१
लुम्बिनी, २४ पुस । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत दोस्रोपटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए । उनले स्थानीय तह, सुरक्षाकर्मी प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दानपेटिका खोली गणना गरिदै आएको बताए । उनले दानपेटिकाबाट संकलित रकम कोषको महत्वपूर्ण आम्दानीको स्रोत भएको बताए ।
दानपेटिकामा संकलित दानलाई सिसिटिभि क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरु खटाएर गणनाको व्यवस्था मिलाइएको थियो ।
मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरुले श्रद्धाले दान गर्छन । दानवापत संकलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको कोषले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij