२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

सरकारको सदासयतालाई कमजोरी नठान्न अर्थमन्त्री पौडेलको आग्रह

शुक्रवार , पौष २६, २०८१

  • 565
    Shares
  • 565
    Shares
  • काठमाडौं, २६ पुस । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिए ।

    ‘भुक्तानीयोग्य रकमको भुक्तानी प्रक्रिया निरन्तर जारी रहन्छ । तर, सरकार र निर्माण व्यवसायी दुवै कानुनअनुसार चल्नुपर्छ’–उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने–‘भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरुले सरकारलाई बुझाउनुपर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नुहुँदैन ।‘

    अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले संघीय सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायीहरुलाई कुल २८ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा अब करिब ६ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रक्रियामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी दिए । 

    नेपाल निर्माण उद्योग परिषद्का पदाधिकारीहरुले सरकारले हालसम्म बिल पेश गरी दावी गरेको भुक्तानी रकमको ८० प्रतिशतभन्दा बढी भुक्तानी प्राप्त गरिसकेको बताउँदै करको बाँकी भुक्तानीका लागि पनि वातावरण बनाइदिन अर्थमन्त्रीलाई आग्रह गरेका  थिए । उनीहरुले करको रकम किस्ता बन्दीमा भुक्तानी हुने व्यवस्था गरिदिन, निर्माण सामग्रीमा आयात छुट दिन, रुग्ण आयोजनामा पूँजी परिचालनको व्यवस्था मिलाइदिन लगायतका अनुरोध गरेका थिए ।