२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

योजना कार्यान्वनयमा जनस्तरबाट निगरानी बढाउनुस् : मुख्यमन्त्री आचार्य

शुक्रवार , पौष २६, २०८१

  • 637
    Shares
  • 637
    Shares
  • गुल्मी, २६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा कार्यान्वयन भइरहेका आयोजनाको निगरानी जनस्तरबाट हुनुपर्ने बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) धुर्काेट गाउँ कमिटी, गुल्मीले शुक्रबार बर्वोटमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक वर्षमा पुरेक बजेट नल्याउने स्पष्ट पार्दै वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनस्तरबाट निगरानी बढाउनुपर्ने बताएका हुन् । ‘यहाँहरुले दिएका योजनाहरु अर्काे वर्षको बजेटमा प्राथमिकताको आधारमा समावेश गर्नेछौं । यसपाली पुरक बजेट आउँदैन । नयाँ बजेट बन्ने बेलामा के कति हुन्छ समेट्ने कोशिष हुन्छ’मुख्यमन्त्री आचार्यले भने,‘चालु आर्थिक वर्षको बजेट ल्याउदा म अर्थमन्त्री थिएँ । त्यही बजेट नै कार्यान्वयन हुन्छ । बजेट कार्यान्वयनमा यहाँहरुले निगरानी गर्न भने जरुरी छ ।’ 

    मुख्यमन्त्री आचार्यले प्राथमिकताको आधारमा योजना तर्जुमा गरिने स्पष्ट पारे । ‘चालु वर्षमा पनि यहाँ राम्रै बजेट परेको छ । परेका बजेटको सदुपयोगमा बढी ध्यान दिन जरुरी छ’उनले भने,‘योजना पर्ने तर, कार्यान्वयन नहुने, गुणस्तरीय नहुने अवस्था आउनु भएन । राम्रोसँग कार्यान्वयन गर्न यहाँहरुको सक्रियता चाहिन्छ ।’ 

    उनले लुम्बिनी प्रदेश सरकारले विकास र समृद्धिबाट विकट बस्तीलाई जोड्ने गरी प्राथमिकतामा राखेको बताए । कार्यक्रममा एमाले गाउँ कमिटीले विभिन्न माग समेटिएको ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको थियो ।