२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

यस्तो छ मदिरा व्यवसायी संघ भैरहवाको २६ बुँदे कार्ययोजना

आइतवार , पौष २८, २०८१

भैरहवा, २८ पुस । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी–२०८१ सम्पन्न भएको छ । शुक्रबार र शनिबार पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटस्थित बुटवल भ्यू होटल एण्ड रेष्टुरेण्टमा भएको गोष्ठीले २६ बुँदे वार्षिक कार्ययोजना तयार पारेको अध्यक्ष बाबुराम पाण्डेयले बताए । 

कार्ययोजनामा उत्पादक कम्पनी तथा डिलरसँग छलफल तथा अन्तरक्रिया, मदिराको मूल्यको लागि ‘मोबाइल एप’ निर्माणका लागि पहल गर्ने, होली मिलन कार्यक्रम, नयाँ वर्ष २०८२ को वार्षिक क्यालेण्डर प्रकाशन गर्ने, अध्ययन अवलोकन भ्रमण, मदिरा व्यवसायीका समस्याहरुलाई सम्बन्धित निकायमा सल्लाह, सुझाव र समाधानका उपायसहित पेश गर्ने, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनसँग छलफल तथा अन्तरक्रिया, कर शिक्षा तालिम र तीज मिलन कार्यक्रम समावेश छ ।

त्यस्तै रक्तदान कार्यक्रम, मदिरा व्यवसायीको फर्म दर्ता (सदस्यता) नविकरण तथा घरदैलो कार्यक्रम, २०८२ सालको दशैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान र संस्थाको स्थापना दिवसका दिन राहत वितरणसहित विभिन्न कार्यक्रम गर्ने समावेश छ ।

त्यसै गरी अवैध मदिरालाई निरुत्साहित पार्न सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न कार्यक्रममार्फत भूमिका निर्वाह, व्यवसायिक राहत कोष दिदा अध्ययन गरी वितरण गर्ने, कार्यालयलाई अझ चुस्तदुरुस्त राखी सञ्चालन, व्यवसायीका गुनासो सुन्ने, छलफल गर्ने, गराउने, बजार अनुगमन गरी दररेटमा एकरुपता ल्याउन पहल, स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम र वार्षिक कार्ययोजना मूल्यांकन समिति संयोजकहरुको कार्यमूल्यांकन समिति समावेश गर्ने उल्लेख छ ।

बैठकमा संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले नयाँ व्यवसायीलाई संस्थामा जोड्नतर्फ ध्यान दिन आग्रह गरे । ‘संस्थालाई अझ बलियो बनाउन एकताबद्ध भएर अगाडि बढ्नुपर्छ’उनले भने, ‘सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’

संघका सल्लाहकार ठाकुर कुमार श्रेष्ठले मदिरा व्यवसायी संघ भैरहवाले यसअघि कार्ययोजनामा समावेश नभएका कार्यक्रमहरु पनि गरेको बताए । ‘यो क्रियाशील संस्थाको रुपमा अघि बढेको छ’उनले भने, ‘कार्ययोजना पूर्ण रुपमा सफल बनाउन लाग्नुहोस् । सल्लाहकारको रुपमा साथ र सहयोग गर्न म तयार छु ।’

सल्लाहकार खिमबहादुर खत्रीले मदिरा व्यवसायी संघ भैरहवाले आफ्नो भवन बनाउने लक्ष्य लिएकोले जग्गा व्यवस्थापनका लागि अघि बढ्न आग्रह गरे । उनले यो संस्था अब्बल संस्थाको रुपमा अघि बढेको बताए ।
संघका महासचिव यादव पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा सचिव तेज बहादुर खत्री, सह–कोषाध्यक्ष विनोद आचार्य, सचिवालय सदस्य प्रकाश पाण्डे, कार्यसमिति सदस्यहरु बसन्त पाण्डे, रमेश धवल, गंगाराम पराजुली, विष्णु गौतम, पिताम्बर खनाल, सुनिल यादव, उमानाथ पोखरेल, ढग बहादुर कुँवर, चिरिञ्जीवि भट्टराई लगायतले बोलेका थिए ।

गोष्ठीमा गत वर्षको कार्ययोजनाको समीक्षा समेत गरिएको अध्यक्ष महासचिव यादव पोख्रेलले बताए ।

त्यस्तै बैठकमा मदिरा व्यवसायी संघ भैरहवाका कोषाध्यक्ष सुन्दर भण्डारीले आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए । 

मदिरा व्यवसायी संघ भैरहवाले वार्षिक साधारण सभापछि वार्षिक कार्यशाला गोष्ठी विभिन्न पर्यटकीय स्थलहरुमा गर्दै आएको वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेले बताए । यसले पर्यटकीय स्थलको प्रचारप्रसार र आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

IMG_0829.JPG