२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

मर्चवारको सहकारी संस्थामा चोरी गर्ने अझै पक्राउ परेनन्

बिहिवार , माघ ३, २०८१

भैरहवा, ३ माघ । अपराध बिनाको समाजको कल्पना गर्न सकिदैन । अपराधको सफल अनुसन्धान गरी दोषीलाई कानूनी कठघरामा ल्याउनु प्रहरी–प्रशासनको दायित्व हो । कुनै पनि अपराधमा संलग्न व्यक्तिलाई कारवाही नहुँदा नकारात्मक सन्देश जान्छ । अर्कोतर्फ गलत गतिविधि गर्नेहरुको मनोबल पनि बढ्छ ।

पछिल्लो समय रुपन्देहीमा पनि चोरीका घटनाहरु भइरहेका छन् । विशेष गरी मोटरसाइकल चोरी, मोबाईल पसल लगायत स्थानमा चोरीका घटना भएको छ । मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरु पक्राउ पनि परेका छन् । यसको ज्वलन्त उदाहरण हो मर्चवारको सहकारी चोरी घटना । 

रुपन्देहीको दक्षिणी क्षेत्र अन्तर्गत मर्चवारी गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा २०८१ साउन ३१ गते सहकारीको ताला फोडेर रु. २३ लाख बढी चोरी भएको थियो । सहकारी संस्थामा सिसिटीभी क्यामेरा (फुटेज) मा चोरीको घटनाका सम्पूर्ण दृश्यहरु कैद भएको छ । तर, चोरी भएको पाँच महिना पुग्दा पनि घटनामा संलग्न व्यक्तिहरु पक्राउ पर्न सकेका छैनन् । 

सहकारीका व्यवस्थापक दिनेश कुमार मौर्यका अनुसार साउन ३१ गते राती सहकारीको ताला फोडेर सहकारीमा शेयर सदस्यले जम्मा गरेको बचतको २३ लाख ११ हजार ४४ रुपैयाँ चोरी भएको थियो । दुईजना व्यक्तिले सहकारीको ताला फाडेर सहकारीमा प्रवेश गरेको सिसिटीभी क्यामेरामा कैद भएको दृश्यमा देखिन्छ । उनीहरुले सहकारीमा रहेको तिजोरी समेत तोडेका छन् । चोरीको घटनाबारे ईलाका प्रहरी कार्यालय मझगावालाई तत्काल जानकारी गराउँदा पनि अहिलेसम्म चोरीको घटनामा संलग्न व्यक्तिहरुको पहिचान हुन सकेको छैन ।

स्वावलम्बनका व्यवस्थापक मौर्यले घटनाको छानबीन गर्न प्रहरीलाई पूर्ण सहयोग गरेको बताउँछन् । प्रहरीको माग अनुसार तथ्यांकसहित अन्य आवश्यक कागजपत्र पनि उपलब्ध गराएको उनले जानकारी दिए । उनले भने, ‘प्रहरी कार्यालयमा नियमित समन्वय गरी घटनामा संलग्न व्यक्तिहरुको पत्ता लगाउन जुटेका छौं । प्रहरीसँग सोध्दा हामी अनुसन्धानमै छौं भन्ने जवाफ पाउँछौं ।’ ‘प्रहरीले मागेको कागजात समयमा उपलब्ध गराउँदै आएका छौं । तर, क्यामेरामा देखिएका दुईजनाको पहिचान हालसम्म खुल्न नसकेको जानकारी पाइरहेका छौं ।’ 

सहकारीको भवनमा जडान भएको सिसिटिभी क्यामरामा कैद भएको भिडियोअनुसार रकम चोरी गर्न आएको दुईजनाको समूहले ३१ गते राती करिब ११ः४५ बजे भवनको पर्खालबाट हाम फालेर प्रवेश गरेको देखिएको व्यवस्थापक मौर्यले बताए । मौर्यले भने, ‘दुवैजना भवनको मुल गेटको ताला तोडेर पहिलो तल्लामा प्रवेश गरेका थिए । पहिलो तल्लाको ताला तोडेर एकजना आर्थिक कारोबार गर्ने विभागमा गए र अर्को लकर भएको अध्यक्षको कार्यकक्षमा प्रवेश गरेका थिए । यो देख्दा उनीहरुलाई लकर र आर्थिक कारोबार गर्ने ठाउँ राम्रोसँग जानकारी भएको देखिन्छ ।’ लकरबाट ६ लाख रुपैयाँ र दैनिक आर्थिक कारोबार गर्ने काउण्टरबाट १७ लाख ११ हजार ४४ रुपैयाँ चोरी भएको मौर्यले जानकारी दिए । 

व्यवस्थापक मौर्यका अनुसार करिब १ हजार २ सय शेयर सदस्य रहेको उक्त सहकारीको १६ करोड कुल पूँजी रहेको छ । ११ करोड १२ लाख ऋण लगानी भएको उक्त सहकारीमा हाल व्यवस्थापकसहित चारजना कर्मचारी कार्यरत छन् ।

समाजसेवी राजकुमार सिंहले प्रहरी चौकी नजिक ठुुलो घटना भएको बर्ता । उनले भने, ‘प्रहरी चौकीबाट डेढ सय मिटर टाढा रहेको सहकारी भवनमा लागेको चारवटा ताला तोडेर २३ लाख भन्दा बढी चोरियो र चोरिएको प्रमाण पनि छ । तर, अहिलेसम्म पनि प्रहरी र सहकारीले केही पत्ता लगाउन सकेन । प्रहरी र सहकारी संस्था अझ जिम्मेवार हुनुपर्छ ।’ उनले थपे,  ‘सहकारीमा चोरी भएको रकम न प्रहरीको हो, न त सहकारीका कर्मचारीको हो । रगत पसिना बगाएर काम गर्ने गरीब परिवार तथा धानगहुँ बेचेर आम्दानी गरिएको किसानको पैसा हो । यो घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कानूनी दायरामा ल्याइ किसानको पैसा फिर्ता ल्याउनुपर्छ ।’ 

सहकारीका शेयर सदस्य सुग्रीम यादवले भने, ‘सहकारीमा जम्मा गरेको हाम्रो बचतको सुरक्षा कसले गर्ने ? अहिलेसम्म न रकम भेटियो न चोरीको घटनामा संलग्न व्यक्ति नै । यो घटनाबारे किन गम्भिरतापूर्वक अनुसन्धान हुन जरुरी छ ।’ चोरी भएको रकम शेयर सदस्यलाई फिर्ता दिलाउन जनप्रतिनिधिले पनि चासो नदिएको उनले गुनासो गरे । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले चोरीको घटनाको अनुसन्धान भइरहेको दावी गरे । उनले प्रहरी खटाएर सहकारीमा आवतजावत गर्ने र कारोबार समेत गर्नेहरुको अभिलेखीकरण गरी अनुसन्धान भइरहेको जानकारी दिए । 

डीएसपी कार्कीले भने, ‘घटनाको प्रकृति र प्रमाणको आधारमा अपराधी पत्ता लाग्ने गर्छ । कुनै शंकास्पद व्यक्ति भए हामी त्यही व्यक्तिबाट अनुसन्धान सुरु गर्नेथियौं, तर, अहिलेसम्म सहकारी संस्थाले शंकास्पद व्यक्तिको नाम दिन सकेको छैन, विभिन्न अभिलेख तथा क्यामेरामा कैद भएको भिडियो (फुटेज) को आधारमा अनुसन्धान गर्नुपर्ने भएकाले दोषी पत्ता लगाउन समय लागेको हो ।’

रुपन्देही प्रहरी प्रमुख (एसपी) रंजित सिंह राठौरले सञ्चालकहरुलाई बोलाएर धेरै कुराहरु बुझिएको बताए । उनले भने, ‘चोरी कसरी भयो, कसले गर्यो भन्नेबारे अनुसन्धान जारी छ ।’