
बिहिवार , माघ ३, २०८१
बुटवल, ३ माघ । मुलुकको आर्थिक विकास र समृद्धिका लागि वनको दीगो व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सामुदायिक वन जनताको विश्वविद्यालय भएकाले यसको सदुपयोग र संरक्षणमा सरकारले सघाउनुपर्ने उनीहरुको सुझाव छ ।
रुपन्देहीको बुटवलस्थित शिवनगर सामुदायिक वनको २९ औं वार्षिक साधारण सभामा बोल्दै सरोकारवालाहरुहरुले वनमा आधारित उद्यमलाई प्राथमिकता दिनुपर्ने बताए । साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले वनको दीगो व्यवस्थापनमा उपभोक्ताहरुको योगदान महत्वपूर्ण रहेको बताइन् । उनले प्रकृतिलाई सन्तुलन गर्नु सबैको दायित्व भएको बताउँदै वनबाट आम्दानी लिन सक्नुपर्ने बताइन् ।
कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण विडारीले वन, वातावरण र प्रकृतिमाथिको असन्तुलित विकासले समस्या निम्तिने बताए । उनले २३ हजारभन्दा धेरै सामुदायिक वनले सकारात्मक काम गरिरहेको बताउँदै वन क्षेत्रलाई हरेक किसिमले अतिक्रमणको चुनौतिबाट जोगाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय कार्यसमिति सदस्य दिनानाथ आर्चायले शहर नजिकै रहेका सामुदायिक वनमा पर्यटन प्रवद्र्धन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए । उनले बुटवल र यस आसपासका वनहरुको महत्वलाई उजागर गरेर पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले राज्यले नै सामुदायिक वनमाथि धेरै संरचना बनाएर अतिक्रमण गरिरहेको आरोप लगाए।
कार्यक्रममा बुटवलका पूर्व नगरप्रमुख शिवराज सुवेदीले वनलाई इको पर्यटनसँग जोडेर समुदायको रोजगारीमा उपयोग गर्नुपर्ने बताए ।
शिवनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मनोज गौचनले वन व्यवस्थापनमा उपभोक्ताले निकै योगदान दिएको बताए । उनले समूहले संघ–संस्था, मठमन्दिर, विद्यालय तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी, निवर्तमान अध्यक्ष नारायण घिमिरे, नेपाली काँग्रेस बुटवल नगर सभापति ज्योति भण्डारी, नेकपा (एमाले) का नगर अध्यक्ष शोभाखर पोखरेल, नेकपा (माओवादी केन्द्र) का डम्मर बहादुर गौचन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन पाण्डेलगायतले वन र वातावरण संरक्षण गर्दै समुदायको आयआर्जनमा टेवा पुर्याउने खालका योजना अगाडि बढाउनुपर्ने सुझाव दिए ।
उपभोक्ता समूहकी सचिव श्यामकली आर्चायको सञ्चालन, उपाध्यक्ष मानकुमारी साठीघरेको स्वागतमा भएको कार्यक्रममा लेखा समितिका संयोजक हरिप्रसाद रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले अध्यक्ष गौचनले पेश गरेका प्रस्ताव वार्षिक अनुमानित बजेट, प्रस्ताविक विधान परिमार्जित, मस्यौदामाथि छलफल गरी सुझावसहित पारित गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij