२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नवदुर्गा स्वावलम्बनको पूँजी ८ करोडले वृद्धि

बिहिवार , माघ ३, २०८१

भैरहवा, ३ माघ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगावास्थित श्री नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोटहीमाई–४ तुनिहवास्थित संस्थाको बिज भण्डार तथा प्रशोधन केन्द्रको प्रांगणमा भएको साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को आय व्ययसहित आगामी आर्थिक वर्षको योजना प्रस्तुत गरिएको थियो । 

साधारण सभामा अध्यक्ष दुर्गा प्रसाद कुर्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ४६ करोड २४ लाख ८४ हजार ५१ रुपैयाको पूँजी बनाएको बताए । आर्थिक वर्ष २०८०/०८१ मा संस्थाबाट प्रदान गरिने विभिन्न सेवाबाट संस्थाले ९३ लाख १५ हजार १ सय ८१ रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको अध्यक्ष कुर्मीले बताए । 

२ हजार १ सय ९७ महिला र २ हजार ७ सय ९ पुरुष गरी ४ हजार ९ सय ६ शेयर सदस्य रहेको यो सहकारी संस्थामा हाल ३ करोड ८ लाख ७९ हजार ५ सय शेयर पूँजी रहेको उनले जानकारी दिए । 
आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ४ सय २० बचत खाताबाट ३५ करोड ३९ लाख ६४ हजार ५ सय ७७ रुपैयाँ बचत संकलन भएको अध्यक्ष कुर्मीले जानकारी दिए । 

त्यसै गरी बचतकर्ताहरुलाई २ करोड ९९ लाख ४१ हजार ६ सय ८५ रुपैयाँ ब्याज प्रदान गरिएको उनले बताए । आर्थिक वर्ष २०८०/०८१ मा संस्थाबाट कृषि, व्यापार, पशुपालन र अन्य गरी ४ क्षेत्रमा २९ करोड ७४ लाख ५८ हजार ७ सय ४५ रुपैयाँ ऋण लगानी गरिएको अध्यक्ष कुर्मीले जानकारी दिए । 

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खाँले स्थानीय र प्रदेश सरकार समन्वय र सहकार्य गरी सहकारीको समस्या समाधान गर्ने बताए । सहकारीको स्थापनाकालको चर्चा गर्दै उनले न्यून परिवारमा आर्थिक उन्नति गर्न सहकारी महत्वपुर्ण संस्था रहेको बताए । 

मर्चवारमा सहकारी आएदेखि मिटरब्याजीको संख्या कम भएको प्रदेश सभा सदस्य खाँले बताए । उनले भने, ‘मर्चवारमा सहकारीको सुरुवात भन्दा पहिला विदेश जान, औषधी उपचार गर्न, विवाह गर्न, घर बनाउन लगायत विभिन्न कार्यको लागि मिटरब्याजीहरुबाट मासिक ५ देखि १० प्रतिशतमा ऋण लिन बाध्यता थियो । तर, अहिले गाउँगाउँमा सहकारी पुगेपछि समस्या हटेको छ ।’

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले २०५२ सालदेखि आफू पनि सहकारीमा आबद्ध रहेको बताए । पिछडिएका ग्रामीण क्षेत्रमा सहकारी संस्था आर्थिक क्रान्ति गर्ने प्रमुख माध्यम रहेको उनले बताए । विभिन्न आयआर्जन समितिको माध्यमले बचत गरी गरीब स्तरका परिवारलाई सहाराको रुपमा रहेको चपाईले बताए । 

मर्चवार क्षेत्रमा नवदुर्गा स्वावलम्बनले गरीब परिवार र किसानको लागि धेरै काम गरेको भन्दै उनले प्रशंसा गरे । सहकारीको विकास तथा उत्थान बचत र ऋणबाट चल्ने भएको बताउँदै उनले संस्थाबाट लिएको ऋण समयमा बुझाउन उनले गरे । सहकारीबाट ऋण लिएर नतिर्नेहरुको नामावली तयार गरी सरोकारवाला निकायबाट कारवाहीमा जान सहकारी संजाललाई उनले आग्रह गरे । 

विशिष्ट अतिथि कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले नवदुर्गा स्वावलम्बन मर्चवारको ठूलो सहकारीको रुपमा परिचित रहेको बताए । संस्थाले किसानको लागि विभिन्न कार्यक्रम ल्याइरहँदा बीउ प्रशोधन कार्यक्रममा सर्वोत्कृष्ट रहेको उनले बताए । गरीब परिवारका लागि न्यून ब्याजदरमा उपलब्ध हुने कार्यक्रम ल्याउन सहकारीलाई उनले आग्रह गरे ।

पूर्व प्रदेश सभा सदस्य सुनिता ठठेरले संस्थाले मर्चवारमा सबैभन्दा बढी नाफा गर्न सफल भएको भन्दै खुसी व्यक्त गरिन् । सहकारी संस्थामा महिलाहरुको उपस्थिति बढ्दै गएको उनले बताइन । 
नेकपा (एमाले) रुपन्देहीको उपसचिव समेत रहेकी ठठेरले नवदुर्गा स्वावलम्बनको तत्कालिन भवन निर्माणमा महिलाहरु आफै खटेर काम गरी निर्माण गरेको बताइन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यवन इकाई रुपन्देहीका प्रमुख नारायण काफ्ले नवदुर्गा स्वावलम्बनले नौलो काम गरेको बताए । यस संस्थाले किसानको लागि गरिएको कार्यहरु सिकेर अन्य सहकारी संस्था तथा स्थानीय तहले गर्नुपर्ने उनले बताए ।  

जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले मर्चवार क्षेत्रमा रहेको सहकारी संस्थाहरुले राम्रो काम गरेको बताए । मर्चवार क्षेत्रमा रहेको सहकारीहरुको सुरक्षामा कमीकमजोरी देखिएको बताउँदै सहकारीको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

साधारण सभामा कोटहीमाई गाउँपालिका–४ का वडाध्यक्ष बेचुराम पाल, राष्ट्रिय सहकारी बैंक भैरहवा शाखाका प्रमुख प्रकाश पन्थी, सम्मरीमाई सहकारी संजालका अध्यक्ष दीपचन्द मौर्य, समाजसेवी गुरुवचन यादव, सामुदायिक प्रकोप व्यवस्थापन संजाल नेपालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थका व्यवस्थापक अशोक कुमार तिवारी लगायतले भनाइ राखेका थिए ।

संस्थाका अध्यक्ष दुर्गा प्रसाद कुर्मीको अध्यक्षता तथा व्यवस्थापक जितेन्द्र यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Durga swalamaban.jpg