२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पत्रकार भुसाल महासंघको सञ्चार तथा अनुसन्धान परामर्शदाता नियुक्त

शुक्रवार , माघ ४, २०८१

काठमाडौं, ४ माघ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को सञ्चार तथा अनुसन्धान परामर्शदाताको रुपमा पत्रकार तथा उपप्राध्यापक टी.पी भुसाल नियुक्त भएका छन् । विगत अढाई दशकदेखि पत्रकारिता, प्राध्यापन, विभिन्न प्रशिक्षण तथा परामर्शमा संलग्न भुसाल यसअघि नेपाल पर्यटन बोर्डको सञ्चार परामर्शदाताको रुपमा कार्यरत थिए ।

उनले पर्यटन बोर्डसँगै युएनडीपी र बोर्डको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानको लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का लागि पनि सञ्चार सहजकर्ताको भूमिकामा रहेर काम गरेका थिए । 

विभिन्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा रहेर पत्रकारिता गरिरहेका भुसालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मावनशास्त्रमा स्नातकोत्तर तथा अर्थशास्त्र र कानूनमा स्नातक गरेका छन् । उनले पूर्वाञ्चल विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । पत्रकार भुसाल पत्रकारिताको क्षेत्रमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट पहिलो गणतन्त्र दिवसमा प्रवल जनसेवा श्री विभूषणबाट विभुषित पहिलो पत्रकार समेत हुन् ।

उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत डिल्लीबजार कन्या बहुमुखी क्याम्पस तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका पोलिगन कलेज र सेफर्ड कलेज, कलेज अफ जर्नालिज्म तथा मास कम्युनिकेशन (सिजेएमसी) लगायतका बलेजमा आम सञ्चार तथा पत्रकारिता, सञ्चार कानून, पर्यटन र सञ्चार तथा समाजशास्त्र लगायतका विषयहरु अध्यापन गराउँदै आएका छन् । 

नेपाली रेडियो नेटवर्कमा कार्यक्रम अर्थसम्वादका उत्पादक तथा प्रस्तोता समेत रहेका भुसालसँग रेडियो मदनपोखरा, बुटवल एफ.एम, तिनाउ एफ.एम, रुपन्देही एफ.एम, सिद्धार्थ एफ.एम, एभिन्यूज टेलिभिजन, नेशनल टेलिभिजन, नयाँ दिशा दैनिक, बुटवल एक्सप्रेस, गोरखापत्र दैनिक, आर्थिक अभियान दैनिक लगायतका नेपाली सञ्चारमाध्यम तथा भारतको जागरण दैनिक ता हिन्दुस्तान टाइम्समा समेत नेपाल प्रतिनिधिका रुपमा काम गरेको अनुभव छ ।

गुल्मीका स्थायी बासिन्दा भुसालले सुरुमा रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गरेका थिए । भुसाल पछिल्लो समय काठमाडौंमा रहेर पत्रकारिता, प्राध्यापन तथा प्रशिक्षणमा क्रियाशील छन् । भुसालले महासंघमा रहेर उनले नेपालको आर्थिक क्षेत्रको अध्ययन अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार समन्वय तथा प्रचारप्रसार लगायतको काम गर्नेछन् ।