२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

तोरी बालीमा दिइएको अनुदानले तिलोत्तमाका कृषक खुसी

शुक्रवार , माघ ११, २०८१

  • 916
    Shares
  • 916
    Shares
  • तिलोत्तमा, ११ माघ । रुपन्देहीको तिलोत्तमामा यस वर्ष नगदेबालीको रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिंचाईको समस्या तथा रोग र किराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि शाखा प्रमुख तिलोत्तमाका दोमलाल भुसालले बताए । तेलहन पकेट कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नम्बर ८ ले २ लाख ५० हजार, उपभोक्ता किसानबाट २ लाख गरी ४ लाख ५० हजारको लागतमा सो खेती गरिएको हो ।

    विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा केही कमी आए पनि यस वर्ष बाँझो जमिन र अनुदानका तेलहन बिउले उत्पादन बढ्ने भएपछि तोरी खेती गर्ने किसानसमेत खुसी भएका छन् । उनका अनुसार नगरमा यस वर्ष नगरपालिकाले बिउ वितरण गरी १ सय ५८ हेक्टर जमिनमा तोरी खेती गरिएकामा १२ मेट्रिकटन प्रतिहेक्टर तोरी उत्पादन हुने अनुमान छ । गत वर्ष नगरमा किसानले गरेको खेती अनुसार ७ प्रतिहेक्टर मेट्रिकटन तोरी उत्पादन भएको थियो । अहिले तोरीको अनुदानको बिउ र समयानुकुल मौसम तथा बाँझो जमिनको पनि सामूहिक खेतीको प्रभावले प्रतिकठ्ठा ४० किलो फल्ने अनुमान छ ।

    तोरी खेतीका लागि पकेट क्षेत्र मानिएका वडा नम्बर ८ का ज्योतिनगर, प्रदिपनगर , दीपनगर, करहिया क्षेत्रमा तोरी उत्पादन बढ्ने देखिएको हो ।विशेष गरेर यस क्षेत्रका बस्तीमा हिउँदे खेतीका रूपमा गरिने धान, गहुँ र मकै खेती छाडा गाईवस्तु लगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन् । त्यसो त पकेट क्षेत्रमा लगाइएको तोरीमा तारबार समेत गरिएको वडाअध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए । नगदेबालीको रुपमा रहेको तोरी खेतीतर्फ किसान आकर्षित भएको र अनुदानले झन उत्साह थपेको वडाअध्यक्ष पौडेलले प्रतिक्रिया दिए । 

    पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायसी प्रयोग र व्यवसायिक प्रयोजनका लागि तोरीखेती गर्न लागेका अध्यक्ष पौडेलले बताए । तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पुर्याउने भएकाले तोरीखेती गर्ने किसानको संख्या बढेको वडाअध्यक्ष पौडेलले बताए ।

    तोरी खेती गर्ने किसानको खेतमै गरिएको अनुगमन तथा अवलोकनमा कृषक संजाल तिलोत्तमा–८ का अध्यक्ष गोबिन्द गौतम, उपाध्यक्ष सीता पाण्डे, सदस्य तेज प्रसाद भट्टराई, हरि प्रसाद पाण्डे, अनुगमन समिति संयोजक रवि पाण्डे लगायतले बोल्दै तिलोत्तमा नगरपालिकाको बजेट नीति अनुसार वडा नम्बर ८ को पहलमा गरिएको किसानका लागि तेलहन खेती कार्यक्रमले कृषकमा थप उत्साह थपेको बताए । नगरपालिकाले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेका तथा सिंचाई, मल र बिउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको र मौसमले साथ दिएका कारणले तोरी लगायतका तेलहन बालीको उत्पादन बढेको हो ।

    IMG_0180.JPG