२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अर्थतन्त्र चलायमान बनाउन सरकारी र निजी क्षेत्रले भैरहवामा संयुक्त छलफल गर्ने

शुक्रवार , माघ ११, २०८१

भैरहवा, ११ माघ । अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर रुपन्देहीको भैरहवामा प्रदेशस्तरीय गोष्ठी (बृहत अन्तरक्रिया कार्यक्रम) हुने भएको छ । खुल्ला सीमा र यसले पारेको प्रभाव, अवैध कारोबारको नियन्त्रणका साथै भन्सारलाई छिटोछरितो र विश्वसनीय बनाउन साझा रणनीति तय गर्ने उद्देश्यले गोष्ठी हुन लागेको हो । 

निजी क्षेत्रका तर्फबाट नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा संसदको आर्थिक समितिका सभापतिसहित प्रतिनिधि सभा सदस्यहरु, लुम्बिनी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरु, तीनवटै प्रहरी संगठनका प्रमुख, प्रदेशका भन्सार कार्यालयका प्रमुखहरु, राजस्व अनुसन्धान र आन्तरिक राजस्व कार्यालयका प्रमुखसहित निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी हुनेछन् । 

गोष्ठीले भन्सार छली नियन्त्रणका उपाय, अबैध कारोबारको निरुत्साहन, उद्योग व्यवसाय प्रवद्र्धन र अर्थतन्त्रको चलायमानका उपायहरु खोज्ने नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका महासचिव शिव ज्ञवालीले बताए। 

त्यसबाहेक स्थलमार्गबाट नेपाल घुम्न आउने भारतीय पर्यटकहरुलाई सुरक्षा जाँचका नाममा अनावश्यक दुःख दिदा पर्यटकहरु भ्रमण छोट्याएर फर्किने गरेको, दोस्रोपटक भ्रमणमा आउन नखोजेको तथा भारतमा नकारात्मक सन्देश प्रवाह भएकाले त्यसको समाधानका लागि समेत यो गोष्ठी उपयोगी हुने अपेक्षा गरिएको छ । 

लुम्बिनी प्रदेशका छोटी भन्सार नाकाहरुबाट अवैध सामान ओसारपसार हुने गरेको, प्रहरी–प्रशासनले नियन्त्रणमा खासै चासो नदेखाएको तथा भन्सार प्रक्रिया झन्झटिलो हुँदा व्यवसायीले अवैध प्रक्रियाबाट सामान भित्राउने गरेको गुनासो बढेकाले सरकार र निजी क्षेत्रको संयुक्त उपस्थितिमा यस्तो कार्यक्रम गर्न खोजिएको चेम्बरले बताएको छ । 

संघीय संसदको अर्थ समितिका सभापतिसहित सदस्यहरु समेत कार्यक्रममा सहभागी हुँदा समस्या समाधानका लागि नीतिगत तहमा समेत प्रभावकारी भूमिका खेल्ने आयोजकको अपेक्षा छ । भैरहवास्थित चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को सभाहलमा आयोजना हुने गोष्ठीमा निजी क्षेत्रले उत्साहजनक सहभागीता जनाउने चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले बताए ।

नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर रुपन्देही, लुम्बिनी अटोमोबाइल्स एशोसिएसन अफ नेपाल, चेम्बर अफ कमर्स, रुपन्देही, तिलोत्तमा चेम्बर अफ कमर्स, बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, सिद्धार्थ होटल एशोसिएसन नेपाल र सिद्धार्थ सञ्जा रुपन्देहीको सहकार्यमा कार्यक्रम हुने आयोजकले जनाएका छन् ।