२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अर्थ समितिका सांसदहरुले गरे लुम्बिनी भ्रमण

सोमवार , माघ १४, २०८१

लुम्बिनी, १३ माघ । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिका सभापतिसहितको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेका छन् । समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा आएका प्रतिनिधि सभा सदस्यहरुले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन् । 

सांसदहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे । भ्रमणपछि अर्थ समितिका सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले लुम्बिनी विश्वका बौद्धमार्गी र शान्तिकामीहरुको पवित्र तीर्थस्थल भएकाले यसको विकासका बारेमा आफूहरुले चासो राखेको बताए । उनले लुम्बिनी गुरुयोजनाको ८८ प्रतिशत काम पूरा भएको तर, बाँकी रहेको कामका लागि बजेट अभावका विषयमा आफूहरुले ध्यान दिने समेत बताए । 

उक्त अवसरमा सदस्य सचिव शाक्यले लुम्बिनी गुरुयोजनाको बाँकी काम, लुम्बिनी क्षेत्रमा भइरहेका पछिल्ला गतिविधिबारे अर्थ समितिका सांसदहरुलाई जानकारी गराए । 

लुम्बिनीको पुरातात्विक, धार्मिक र साँस्कृतिक महत्वबारे जानकारी गराउँदै लुम्बिनीलाई पछिल्ला बर्षमा बजेटमा भएको कटौतीका बारेमा समेत ध्यानार्कषण गराएको शाक्यले बताए । सांसदहरुले मायादेवीको दर्शन, पवित्र पुष्करणीपोखरी, अशोकस्तम्भ, केही विहार क्षेत्रहरुको भ्रमण गरेका थिए । भन्सार विधेयकका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया र सुझाव संकलनका लागि नेपालगंज, कृष्णनगर हुँदै भैरहवामा आएको बेला समितिका सांसदहरुले लुम्बिनी भ्रमण गरिएको अर्थ समितिका सचिव रेखा उपाध्यायले जानकारी दिइन् ।