
सोमवार , माघ १४, २०८१
भैरहवा, १४ माघ । खुला सिमानाको सही व्यवस्थापन र भन्सार सम्बन्धि कानूनहरुमा व्यापक संशोधन गरेर मुलुकको राजस्व बढाउन सकिने सरोकारवालाले बताएका छन् । खुला सिमानाका नाममा भन्सार छली भइरहेकोले यसको व्यवस्थापनका लागि भन्सार विधेयक संशोधन नगरी नहुने अवस्था देखिएको उनीहरुको भनाइ छ ।
प्रतिनिधि सभाको अर्थ समितिका सभापतिसहितका सदस्यहरु, लुम्बिनी प्रदेशका भन्सार प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखसहित निजी क्षेत्रका प्रतिनिधिहरुको संयुक्त छलफलले वस्तुको भन्सार मूल्यांकन, सवारीसाधन चेकजाँच र भन्सार प्रक्रियालाई छिटोछरितो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले रुपन्देहीको भैरहवामा आयोजना गरेको खुल्ला सिमाना र यसले पारेको प्रभाव विषयक बृहत अन्तरक्रिया कार्यक्रममा अर्थ समितिका सभापति सन्तोष चालिसेले ब्यवसायीले उठाएका गम्भीर विषयहरुलाई समावेश गरेर भन्सार विधेयक संशोधन गरिने बताए । भन्सार मूल्यांकनलाई अन्तर्राष्ट्रिय अभ्यासका आधारमा वैज्ञानिक बनाउने, वस्तुको गुणस्तर जाँचका लागि छुटटै यूनिट स्थापना गर्ने, खुला सिमानालाई व्यवस्थित गर्ने र गाडी जाँचपासका लागि अत्याधुनिक प्रविधि जडान गर्नुपर्ने आवश्यकता रहेको बताए । भन्सार विधयेकलाई सर्वस्वीकार्य बनाउन अर्थ समिति देशभरीका भन्सार नाकाहरुको अवलोकनमा रहेको उनले जानकारी दिए ।
‘हाम्रा व्यवसायहरुलाई कसरी सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन सकिन्छ, चोरी निकासी रोक्ने उपाय के हुन् र निर्यातलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेर कानून बनाउनेछौं’ उनले भने–‘भन्सार विधेयकलाई हामीले आगामी दिनमा कसैले चिन्ता लिन नपर्ने गरी संशोधन गछौं । हामी सबैको चिन्ता कसरी मुलुकको राजस्व बढाउने र निर्यात प्रवद्र्धन गर्ने नै हो ।’
अर्थ समितिका सदस्य सर्य थापाले सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए । उनले एउटै मान्छेले दिनमा २० पटक सीमा वारपार गरिरहेको पाइएको बताए । ‘राजस्व, कर तिर्नुपर्दैन भन्ने पंक्तिको संसार अझै छ, त्यो पंक्तिलाई नियन्त्रण गर्ने कानून बनाउने हो । कर तिर्ने कुरा प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्छ’थापाले भने–‘अवैध कारोबारलाई कसैले पृष्ठपोषण गर्नुहुँदैन ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले राजस्व चुहावट र तस्करी नियन्त्रणमा देखिने गरी काम भएको दावी गरे । उनले तस्करीलाई छुट दिने कुरा मान्य नहुने जिकिर गरे । प्रजिअ घिमिरेले खुल्ला सीमालाई चुनौतीको रुपमा मात्र हेर्दा र अवसरको रुपमा परिणत गर्न नसक्दा मात्रै चुनौती भएको बताए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दान बहादुर कार्कीले सीमापार अपराध, भन्सार छली लगायतका कारणले उद्योग व्यापार पनि प्रभावित हुने बताए । उनले भन्सारलाई प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरलले सीमावारीको बजार सुनसान र सीमापारीको बजार गुल्जार हुनु खोजीको विषय भएको बताए । ‘केही वर्ष पहिला नेपाली बजारमा सामान किन्न भारतीय ग्राहकको घुँइचो हुन्थ्यो, तर, पछिल्लो समय यसको ठीक उल्टो भएको छ’उनले भने–भारतीय बजार नेपाली ग्राहकले भरिभराउ भएका छन्, यो खोजीको विषय हो ।’
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भारतबाट १ सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार गराउनुपर्ने व्यवस्थालाई सम्पूर्ण भन्सार नाकामा अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक आनन्द खनालले विश्वमै सकेसम्म थोरै प्रमुख भन्सार नाकाहरु हुने अभ्यास रहे पनि नेपालमा आवश्यकता भन्दा बढी भन्सार नाकाहरु रहेकोले यसलाई घटाउनुपर्ने तर्क राखे । नाडा लुम्बिनीका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीले भन्सार छलेर नेपालमा सामान आउँदा स्वदेशमा उत्पादन भएको वस्तुले प्रतिष्पर्धा गर्न नसकेको बताए ।
चेम्बर अफ कमर्स लुम्विनीका महासचिव शिव ज्ञवालीले भन्सार मूल्यांकन विधि अत्यन्तै अवैज्ञानिक रहेकाले वस्तुको गुणस्तर अनुसार भन्सार मूल्यांकन गर्नुपर्ने बताए ।
कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी, सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरे, पाल्पा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कमल ढकाल, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्मा, लुम्बिनी केबलकारका नवराज ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, कोषाध्यक्ष नरेश के.सी., लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका सचिव बालकिसन गुप्ता (बनिया), उद्योगी बसन्त रोक्का क्षेत्री लगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद गौतम र उद्योगी बसन्त रोक्का क्षेत्रीलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij