२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भन्सारको सेवा प्रवाह सरलीकरणमा जोड

सोमवार , माघ १४, २०८१

भैरहवा, १४ माघ । भन्सारबाट हुने दैनिक कार्यसम्पादनमा जति सरलीकरण भयो त्यति बढी आयात निर्यात व्यापारमा सहज हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भैरहवा भन्सार कार्यालयको आयोजना र लुम्बिनी प्रेस क्लबको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । उनीहरूले चुस्त एवं प्रविधिमैत्री प्रशासन आजको आवश्यकता रहेको समेत जनाएका छ्न । भन्सार प्रशासनबाट ढिलो काम सम्पादन हुँदा त्यसको प्रत्यक्ष असर अन्तमा उपभोक्ता नै पर्ने बताउँदै ढिलासुस्ती नभइ छिटो भन्दा छिटो कार्यसम्पादन हुनुपर्नेमा जोड दिए ।

सेवा छिटो भएमा आयात निर्यातकर्तालाई सहजता हुने र अन्ततः यसले उपभोक्तालाई समेत फाइदा हुने उनीहरूको भनाइ थियो । वक्ताहरूले पछिल्लो समय भन्सार सेवा सरलीकृत भए पनि खुला सीमाको कारण हुने गरेको राजस्व चुहावट रोक्न भने सबै पक्षले सामूहिक पहल गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भन्सार सेवालाई उद्योगी–व्यवसायी र जनमैत्री बनाउनुपर्नेमा जोड दिए । ‘हामीले दिने सेवा सहज, सरल र जनमुखी हुनुपर्छ’उनले भने–‘जिम्मेवारीमा बसेपछि कुनै पनि बहानामा काममा विलम्ब गर्ने, दुःख दिने र हैरानी गर्नुहुँदैन ।’ चोरी तस्करीदेखि र लाइन मिलाउने जस्ता कुरा आउँछ्न त्यसलाई पूर्ण रुपमा डिलिट गर्नुस्’प्रजिअ घिमिरेले भने । रूपन्देहीको सीमा नाकामा कडाइ गरिएको र चुहावट रोक्न सबै निकाय लागेको उनले बताए । 

‘चोरी तस्करी गराउन सहयोग गर्ने, लाइन मिलाउने जस्ता काम गैरकानूनी हुन्’, उनले भने, ‘मैले सुरक्षा निकाय र भन्सारलाई प्रष्ट भनेको छु, कुनै बहानामा भन्सार छली हुनुहुँदैन, यस्तो भएमा सैह्य हुँदैन ।’ 
भैरहवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा भैरहवा भन्सार कार्यालयले ४६ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भन्सारको राजस्व संकलन बढी भएको उनले बताए । भन्सार विभागले दिएको लक्ष्य भेट्टाउन नसके पनि निराश हुने गरी राजस्व संकलन नघटेको उनले बताए ।

उनले नेपालको भन्सार सेवा विश्वस्तरको रहेको जनाए । ‘हामीले दिने सेवा प्रभावकारी छ, यसलाई अझै सरलीकृत गर्दै लगेका छौं’, ‘राजस्व संकलन दर पनि विगतमा भन्दा बढिरहेको छ , उनले भने–‘सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न नियमित गस्ती र निगरानी बढाइएको छ । ‘सुरक्षा निकायको सहकार्यमा हामीले काम गरिरहेका छौं’, ‘अवैध काम निस्तेज पार्न सबै प्रयास भएका छन् । यसका लागि नागरिकस्तर र आम उद्योगी–व्यवसायीको सहयोग र सहकार्य जरुरी छ ।’

भन्सार कार्यालय सोनौलीका प्रमुख बैभव कुमार सिंहले दुवै देशका भन्सार कार्यालयले सहकार्य गरी सेवा प्रवाहलाई छिटोछरितो बनाउँदै लगेको बताए । ‘हाम्रो तर्फबाट हुने सबै काममा सहकार्य गरेका छौँ’, उनले भने, ‘भोलिका दिनहरुमा पनि सहयोग र सहकार्य निरन्तर रहनेछ ।’ उनले दुवै पक्षको सहकार्यले गैरभन्सार क्रियाकलाप रोक्न सहयोग पुगेको जनाए ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विवेक घिमिरेले भन्सार सेवा प्रविधिमैत्री हुँदै गएकाले सेवा सहज हुँदै गएको बताए । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेड क्वाटर रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले सबैको सामूहिक प्रयासले गैरभन्सार गतिविधि कम हुँदै गएको बताए । उनले भन्सार, राजस्व, अन्य सुरक्षा निकायसँग सहकार्यमा आफूहरुले काम गरिरहेको बताए । 

भन्सार एजेन्ट महासंघ, नेपालका अध्यक्ष प्राचिन थैवले भन्सार सेवा विगतको तुलनामा सरल हुँदै गए पनि अझै आयात–निर्यातका केही झण्झटहरु रहेको जनाउँदै यसलाई समाधान गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुल प्रसाद न्यौपाने, नेपाल भन्सार एजेण्ट संघ, सिद्धार्थनगर, रुपन्देही अध्यक्ष मधु प्रसाद पन्थीलगायतले बोल्दै भन्सार छलीलाई निरुत्साहित गर्नुपर्ने र भन्सारको सेवालाई प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा भन्सार दिवसका अवसरमा आयोजित खुल्ला डबल पुरुष ब्याडमिन्टन, सप्ताहव्यापी कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोगीहरु, सबैभन्दा बढी आयात गरी राजस्व दाखिला गर्ने नेपाल आयल निगम, लुम्बिनी प्रादेशिक कार्यालय भलवारी, बढी निर्यात गर्ने जगदम्बा स्पिनिङ मिल्स साथै उत्कृष्ट कर्मचारी, पत्रकार लगायतलाई सम्मान गरिएको थियो ।