२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर सहकारी सञ्जाललाई आधिकारिकता प्रदान

शुक्रवार , माघ १८, २०८१

भैरहवा, १८ माघ । सिद्धार्थनगर सहकारी सञ्जाल, सिद्धार्थनगर, रुपन्देहीले आधिकारिकता पाएको छ । सिद्धार्थनगर नगरपालिकामा विधिवत रुपमा दर्ता भएसँगै यसले आधिकारिकता पाएको सञ्जालका अध्यक्ष कुल प्रसाद न्यौपानेले जानकारी दिए । स्थानीय सहकारी प्रवर्द्धन तथा संस्थाहरुमा सुदृढीकरण साझेदारी कार्यक्रम अन्तर्गत बिहीबार भैरहवामा आयोजित सहकारी प्रवर्द्धन गोष्ठीमा नगर उपप्रमुख उमा अधिकारी र नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले अध्यक्ष न्यौपानेलाई संस्था दर्ताको प्रमाणपत्र प्रदान गरे । 

सिद्धार्थनगर नगरपालिकाको सहकारी ऐन, २०७४ (प्रथम संसोधन) को दफा ९४(१) तथा सहकारी नियमावली, २०७८ को नियम ४८ बमोजिम सीमित दायित्व भएको संस्थामा दर्ता गरिएको शाखा प्रमुख खनालले जानकारी दिए ।

प्रमाणपत्र हस्तान्तरण गर्दै उपप्रमुख अधिकारीले सञ्जालले आधिकारिकता पाएसँगै संस्थागत रुपमा सहकारीका समस्याहरु राख्न सहज हुने र प्रदेश तथा केन्द्रसँग बाझिएका ऐनहरुमा सुधारका लागि नीतिगत तहमा नगरपालिकाले पुलको काम गर्ने बताइन् । उनले ऋणीले समयमै ऋण, ब्याज तथा बचतकर्ताले बचत तिर्न नसक्दा सहकारीमा समस्या देखिएको बताइन् । ‘सहकारीमा पैसा जम्मा गरेका विशेष गरी विपन्न नागरिक मर्कामा परेका छन्’उनले भनिन्–जनताले दुःख पाउनुहुँदैन ।’ 

त्यस्तै सहकारी शाखा प्रमुख खनालले सञ्जालले सिद्धार्थनगरमा रहेका ५० वटा सहकारी तथा शाखा र सेवा केन्द्रहरुलाई सञ्जालमा आबद्ध गर्न आग्रह गरे । संस्थाका उपाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बाहिरबाट आएका केही सहकारीका कारण विकृति भएको बताए । उनले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

सञ्जालका सचिव खिमबहादुर खत्रीले संस्थाको आधिकारिकतासँगै यस क्षेत्रका सहकारीहरुको प्रवद्र्धन तथा संस्थागत सुदृढीकरणका लागि कार्यक्रमहरु गरिने जानकारी दिए ।