२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

डायलासिस सेन्टर स्थापनाका लागि ओमसतियामा महायज्ञ हुँदै

शनिवार , माघ १९, २०८१

  • 835
    Shares
  • 835
    Shares
  • भैरहवा, १९ माघ । रोटरी क्लब अफ भैरहवा र सर्वेश्वर शिव मन्दिर नौडिहवाको आयोजनामा यही माघ २२ गतेदेखि रुपन्देहीको ओमसतिया गाउँपालिका–३ स्थित नौडिहवा, लक्ष्मीनगरमा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । 

    मन्दिर भवन निर्माणसहित डायलासिस केन्द्र (सेन्टर) सञ्चालन तथा क्लिनिक स्थापना गर्ने उद्देश्यले आर्थिक संकलनका लागि महायज्ञ आयोजना गर्न लागिएको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका संयोजक राम प्रसाद पन्थीले बताए । कुनै पनि विपन्न परिवारले आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य सेवाको अभियानका लागि महायज्ञ आयोजना गरिएको उनले जानकारी दिए । 

    महायज्ञबारे जानकारी गराउन शुक्रबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पन्थीले रोटरी क्लबले पहिलो चरणमा कम्तीमा ५ वटा बेडसहितको डाइलाइसिस सेन्टर स्थापना गरी दैनिक २० जना  मिर्गौला रोगका बिरामीलाई सेवा उपलब्ध गराउने उद्देश्य राखिएको उल्लेख गरे ।

    महायज्ञबाट संकलित रकमबाट जग्गा थपेर मन्दिरको क्षेत्र विस्तार तथा भौतिक संरचना निर्माणमा समेत प्रयोग गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर बस्नेतले जानकारी दिए । महायज्ञमा २ करोड बढी रकम संकलन गर्ने लक्ष्य राखिएको उनले बताए । रोटरी क्लब अफ भैरहवाले सामाजिक, आर्थिक, साँस्कृतिक क्षेत्रमा सेवा भावले कार्यसम्पादन गर्दै आएको उनले बताए ।

    महायज्ञमा अच्युतकृष्ण अधिकारी मूल कथा वाचकको रुपमा रहनेछन् । महायज्ञमा सिद्ध महायोगी श्री श्री १००८ श्री बाबा कालीदास महाराज र भारतको अयोध्यास्थित राम मन्दिरका उत्तराधिकारी कमल नयन दास जी महाराजको विशेष उपस्थिति रहने सर्वेश्वर शिव मन्दिरका अध्यक्ष अर्जुन बहादुर बस्नेतले जानकारी दिए ।

    आयोजकका अनुसार महायज्ञको कलश यात्रासहित समुद्घाटन गरी हरेक दिन बिहान ६ बजेदेखि ११.४५ बजेसम्म पूजापाठ, मध्यान्ह १२ः४५ देखि बेलुकी ४ः४५ सम्म कथावाचन तथा हरेक दिन साँझ ७ देखि ९ बजेसम्म्मा नियमित माहात्म्य भजन गरिनेछ । 

    माघ ३० गतेसम्म आयोजना हुने महायज्ञमा भक्तजनले ग्रह शान्ति, रुद्री पूजा, चौरासी पूजा, कासर्प दोष शान्ति, तुलादान, व्रतबन्ध, शनिग्रह शान्ति तथा विशेष पितृ उद्धार महाआरतीका कार्यक्रम हुने आयोजकले जनाएका छन् । महायज्ञमा ८० हजार बढी भक्तजनहरु आउने अपेक्षा गरिएको मन्दिर समितिका सचिव हिमलाल खनालले बताए ।

    महायज्ञलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको रोटरी क्लब अफ भैरहवाका कोष वृद्धि संयोजक अजय कुमार गुप्ताले बताए । महायज्ञ आयोजना हुने स्थल ओमसतिया गाउँपालिकाको ठुटीपीपल चोकबाट १ किलोमिटर पूर्व रहेको छ ।