
आइतवार , माघ २०, २०८१
भैरहवा, २० माघ । श्री मर्चवार संचार सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–३ स्थित मार्यादपुर संस्थाको कार्यालयमा साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष अशोक कुमार जयसवालले संस्था १ करोड ३३ लाख ३ सय ९७ रुपैया पूँजी बनाउन सफल भएको बताए । संस्थामा १० लाख ३६ हजार शेयरपूँजी रहेको उनले जानकारी दिए ।
संस्थामा ९७ हजार ९ सय १२ रुपैयाँको स्थिर सम्पत्तिसहित संस्थाबाट विभिन्न शेयर सदस्यहरुलाई ८९ लाख ५८ हजार ७ सय ८० रुपैयाँ विभिन्न शिर्षकमा ऋण लगानी गरिएको उनले बताए । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न किसिमको बचतबाट ५८ लाख ९९ हजार १७९ रुपैया बचत संकलन गरेको उनले बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खाँले सहकारीले सबैलाई टेवा पुर्याएको बताए । सहकारीको इतिहासबारे चर्चा गर्दै गरीब परिवारमा सहकारीको भूमिका उच्च रहेको उनले बताए । ठूला साहु महाजनबाट छुटकारा पाउन न्यून आय भएका सामान्य परिवार सहज रुपमा कर्जा सहकारी दिएकोले सहकारी न्यून आय भएका परिवारको लागि आर्थिक क्रान्ति गर्ने माध्यम रहेको बताए ।
सांसद् खाँले मर्चवार क्षेत्रमा विकासको क्रान्ति ल्याउन विभिन्न काम गरेको बताए । भौतिक विकासमा पछाडी परेको मर्चवार क्षेत्रमा आफ्नो कार्यकालको चर्चा गर्दै मर्चवार क्षेत्रमा अब बजेटको अभावले विकास निर्माण कार्य नरोकिने उनले दावी गरे ।
गंगाराम गुप्ताको सञ्चालनमा भएको कार्यक्रममा सामुदायिक विपद् व्यवस्थापन संजालका राष्ट्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, श्री धनलक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमरनाथ यादव, कोटहीमाई गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य इसराक अहमद खान लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij