२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

‘रित्तो गाउँ’ ले जित्यो उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड

सोमवार , माघ २१, २०८१

काठमाडौं, २१ माघ । निर्देशक रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ ले छैठौं नेपाल साँस्कृतिक अन्तर्राष्ट्रय फिल्म महोत्सवमा उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड जित्न सफल भएको छ । शनिबार सम्पन्न अवार्ड समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतले ‘रित्तो गाउँ’ का निर्माता आनन्द शर्मा वाग्लेलाई अवार्ड तथा प्रमाणपत्रसहित सम्मान गरे ।

यस प्रोजेक्टका निर्देशक ज्ञवाली कार्यव्यस्तताका कारण उपस्थित हुन नसके पनि उनले आफ्नो खुसी सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै दर्शक, टीम र सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरेका छन् । उनले लेखेका छन्,–‘यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा म अत्यन्त गौरवान्वित छु । यो अवार्डले सम्पूर्ण टीमलाई अझ बढी जिम्मेवार बनाएको छ ।’

फिल्म महोत्सवमा ४७ देशका फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री र विभिन्न विधाका चलचित्रहरू प्रदर्शन गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट फिल्महरूलाई सम्मान गरिएको यस प्रतियोगितामा ‘रित्तो गाउँ’ उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको विजेता घोषित भएको हो ।

गत वर्ष निर्माण भएको ‘रित्तो गाउँ’ विभिन्न फेस्टिभल तथा च्यारिटी कार्यक्रममा प्रदर्शन भइरहेको छ । यसअघि पनि यसले केही अवार्ड जितिसकेको छ । नेपाली समाजमा युवा पलायनका कारण उत्पन्न समस्याहरूको कथा बोल्ने रित्तो गाउँको कथाका लागि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक उद्धव सिग्देलको नेतृत्वमा अनुसन्धान गरिएको थियो । 

‘रित्तो गाउँ’ हेर्नेहरुले अनाठो प्रस्तुतीकरण भनेका छन् । फिल्ममा डकुमेन्ट्रीको वास्तविकता र सर्ट फिल्मको कथात्मक शक्ति एकैठाउँ समेटिएको छ । यस्तो नयाँ शैलीले दर्शकलाई गहिरो प्रभाव पार्न सक्ने भएकाले नयाँ प्रयोग गरिएको निर्देशक ज्ञवालीले बताए । ‘रित्तो गाउँ’ मा आनन्द शर्मा वाग्ले, कुनाल कायल, प्रेम भुर्तेल र नारायण कंडेल निर्माता हुन् । चार्डर एकाउण्टेण्ट पेशामा आबद्ध उनीहरुको टीमले यस फिल्म तयार पार्न लगभग १ वर्ष समय खर्चिएका थिए ।