२०८२, माघ २५ गते

Feb 08 2026 | २०८२, माघ २५ गते

ट्राफिक रुपन्देहीद्वारा ६ महिनामा २ करोड ४० लाख राजस्व संकलन

बुधवार , माघ २३, २०८१

  • 727
    Shares
  • 727
    Shares
  • भैरहवा, २३ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सवारी दुर्घटना न्यूनीकरण अभियानका साथ राजस्व संकलन कार्यलाई पनि तीव्रता दिएको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना बढाउँदै आएको रुपन्देही ट्राफिक प्रहरीले राजस्व संकलनलाई पनि सँगसँगै अगाडि बढाएको हो । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले चालु आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म २ करोड ४० लाख २६ हजार राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा सवारी नियम उल्लंघन गर्ने १७ हजार ३ सय २७ वटा सवारीसाधनलाई कारवाही गर्दै उक्त राजस्व संकलन गरेको हो ।

    गत आर्थिक वर्षको पुस मसान्तसम्म २ करोड २ लाख ३४ हजार राजस्व संकलन गरेको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ करोड ४० लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकमा उल्लेख छ । 

    ट्राफिक प्रहरीले गत आर्थिक वर्षको तुलनामा ३७ लाख बढी राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिइन् । उनका अनुसार आर्थिक वर्षको ६ महिनामा संकलन भएको राजस्व गत वर्षको ६ महिनाको भन्दा १९ प्रतिशतले बढी हो । 

    ट्राफिक प्रहरीले ६ महिनाको अवधिमा सवारी नियम उल्लंघंन गर्ने १७ हजार ३ सय २७ सवारीसाधनलाई कारवाही गरेको जनाएको छ । प्रहरीले लेन अनुशासन उल्लघंन गरेका ९ सय ६६ वटा मोटरसाईकल, कार, जीप, भ्यान, माईक्रोबस, ट्रक तथा टिप्परलाई कारवाही गरेको जनाएको छ । त्यस्तै तीव्र गति (ओभर स्पिड) मा कुदाउने १ हजार ६ सय ३९ सवारीसाधनलाई पनि कारवाही गरेको छ ।

    मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी हुईक्याउने, लेन अनुशासन कायम नराख्ने, क्षमता भन्दा बढी सवारी बोक्ने, ओभरलोड बोक्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारीचालक अनुमतिपत्र नभएका लगायतका सवारीसाधनलाई कारवाही गरेको प्रहरीले जनाएको छ । 

    प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान, सवारी नियम उल्लंघन गर्नेलाई सडकमै ट्राफिक सचेतना कक्षा सञ्चालन लगायतका जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम समेत गर्दै आएको प्रहरी निरीक्षक केसीले जानकारी दिइन् । 

    ट्राफिक व्यवस्थापनलाई चुस्त पार्दै दुर्घटना कम गराउन ट्राफिक प्रहरीले दक्ष जनशक्ति र साधनस्रोतको उचित प्रयोग गर्दै काम समेत गर्दै आएको छ ।  प्रचलित कानून तथा संगठनिक नीतिअनुरूप प्रहरीले प्रत्येक दिनजसो राडरगनको प्रयोग गरी सवारीको तीव्र गति नियन्त्रणमा लाग्ने देखि सरोकारवाला निकायसँग समन्वय गर्दै सुरक्षित यात्राका लागि प्रभावकारी अभियान समेत चलाउँदै आएको छ ।