२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक, विभिन्न निकायबीच समन्वयमा जोड

बुधवार , माघ २३, २०८१

काठमाडौं, २३ माघ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीयस्तरसम्म नै समन्वय एवं सहकार्य गर्नुपर्नेमा जोड दिएको छ । बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरको क्षेत्रका साथसाथै वैकल्पिक मार्गबाट हुन सक्ने अवैध निकासी–पैठारी नियन्त्रणतर्फ विशेष ध्यान दिनुपर्ने र सबै निकाय जिम्मेवारपूर्ण ढंगबाट सक्रिय भएर लाग्दा अवैध कारोबारको नियन्त्रणमा उल्लेखनीय उपलब्धी हासिल गर्न सकिने बताए । 

त्यसै गरी अर्थ सचिव डा. रामप्रसाद घिमिरेले आयात–निर्यात हुने वस्तुको अवस्था, वर्गीकरण र प्रयोग लगायतका विषयमा विभिन्न निकायहरूबीचको बुझाइमा एकरुपता हुन जरुरी रहेको उल्लेख गर्दै तथ्यपरक सूचनाका आधारमा काम गर्नुपर्नेमा जोड दिए ।

राजस्व सचिव दिनेश कुमार घिमिरेले वस्तु उत्पादन र आयातको स्रोतमै नियमन गर्न सक्दा अवैध कारोबारलाई नियन्त्रण गर्न सहज हुने बताउँदै समितिको बैठकमा सम्बद्ध अधिकारीबाट गरिएको प्रतिवद्धता कार्यान्वयनको तहमा समेत प्रतिबिम्वित हुने विश्वास व्यक्त गरे । 

बैठकमा सहभागी अधिकारीहरूले अवैध निकासी पैठारी नियन्त्रणमा क्रमशः सुधार आए तापनि सार्थक नतिजाका लागि थप पहल गर्नुपर्ने आवश्यकता औंल्याए । उनीहरूले सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै बजार अनुगमनलाई बढाउनुपर्ने र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

समितिको बैठकमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायका अधिकारीहरूको सहभागिता थियो ।