
बिहिवार , माघ २४, २०८१
भैरहवा, २४ माघ । लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति, रुपन्देहीको १८ औं वार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । संघको १८ औं साधारणसभा यही माघ २६ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित विश्राम वाटिकामा हुँदैछ । संघले बुधबार भैरहवामा पत्रकार भेटघाट कार्यक्रम गरी साधारणसभाबारे जानकारी गराएको छ ।
लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मञ्जु भुषालले साधारणसभा माघ २६ गते शनिबार बिहान ८ बजेदेखि सुरु हुने जानकारी दिइन् । ‘साधारणसभाको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुहुनेछ, अध्यक्ष भुषालले भनिन्–‘ कार्यक्रममा जिल्लाका अन्य विशिष्ट व्यक्तिहरूसँगै निर्माणसँग सम्बन्धित कार्यालयका प्रतिनिधि र नेपाल निर्माण व्यवसायी महासंघबाट पनि प्रतिनिधित्व रहनेछ ।’
संघ स्थापनाको २८ वर्षको इतिहासमा ऐतिहासिक साधारण सभा गर्न लागेको उनले बताइन् । साधारणसभाकै अवसरमा संघको गतिविधि समेटिएको ‘लुम्बिनी निर्माण’ नामक स्मारिका (विशेषांक) प्रकाशन गरी साधारणसभाकै दिन विमोचन गरिने भुषालले बताइन् ।
त्यस्तै, संघका पूर्वअध्यक्षहरु तथा संस्थापक सदस्यहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा संघको बुटवल शाखाका अध्यक्षहरुलाई पनि सम्मान गरिनेछ । लुम्बिनी निर्माण व्यवसायी संघले निर्माण व्यवसायीहरुले पाउनुपर्ने वक्यौता भुक्तानी र निर्माण सामग्रीको अस्वभाविक मूल्यवृद्धिबारे सरकारलाई पटकपटक ध्यानाकर्षण गराएको अध्यक्ष भुषालले बताइन् । ‘खासगरी सिमेन्ट र डण्डीमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायी र आम उपभोक्ता मर्कामा परेका छन्’उनले भनिन्–अझै पनि मूल्य घटेको अवस्था छैन ।’
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीमा हाल ५ सय जना बढी सदस्यहरु आबद्ध रहेको महासचिव प्रितम रौनियारले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij