२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा इनोभेटिभ ईको कृषि कम्पनीको कारोबार शुभारम्भ

शनिवार , माघ २६, २०८१

भैरहवा, २६ माघ । इनोभेटिभ ईको कृषि कम्पनी लिमिटेडले रुपन्देहीको भैरहवामा कारोबार शुभारम्भ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ स्थित हाटबजारमा केन्द्रीय कार्यालय रहेको कम्पनीले कृषि उत्पादनको विक्री तथा बजारीकरण सुरु गरेको हो । कम्पनीको शुक्रबार एक कार्यक्रमकाबीच पूर्व सांसद् भरत कुमार शाहले शुभारम्भ गरेका हुन् ।

एकैथलोमा कृषिका उत्पादनहरु विक्री गर्ने, किसानलाई प्रविधिसँग जोडेर प्रोत्साहन गर्ने तथा मुलुकमा उत्पादिन उत्पादनको बजारीकरण गर्ने उद्देश्यले भैरहवामा निजी क्षेत्रबाट इनोभेटिभ ईको कृषि कम्पनी लिमिटेड सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रेम बहादुर पाठकले बताए । उनका अनुसार कम्पनीको चुक्ता पूँजी ११ करोड ६२ लाख छ । त्यस्तै अधिकृत पूँजी २० करोड छ । कम्पनीमा विभिन्न उद्योगी–व्यवसायी र बैंकिङ क्षेत्रमा अब्बल कहलिएका व्यक्तिसहित २१६ जना शेयर सदस्य रहेको उनले जानकारी दिए ।

त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि सहकार्य गरेको पाठकले बताए । जसले गर्दा कम्पनीलाई र कृषकलाई थप सुरक्षित तुल्याएको उनले बताए । उनका अनुसार कम्पनीको कार्यक्षेत्र नेपालभरी छ । 

‘यहाँबाट मुलुकभित्र उत्पादित कृषि उपजहरुको प्रवर्द्धन गरी बाह्य मुलुकसमेत निर्यात गरिनेछ’उनले भने–‘प्रस्तावित पब्लिक कम्पनीका रुपमा रहेको यो संस्थाले विशेष गरी नेपालमा मूल्य नपाएका कृषि उपजहरुको बजारीकरण गरी बाह्य मुलुक निर्यात गर्न ट्रेडिङको काम गर्नेछ । साथै किसानलाई आधुनिक कृषि औजारको प्रयोग र प्रविधिसँग जोड्न सहयोग गर्नेछ । ’

कृषि औजार र मेसिनरी सामानसमेत कम्पनीले विक्री गर्ने पाठकले बताए । ‘कृषि क्षेत्रमा नव अवधारणाको योजनासहित काम गर्ने लक्ष्य राखिएको छ । कृषि टे«डिङको काम गर्न, नेपालमा मूल्य नपाएका उपज खरीद गरी विदेश पठाउन, कृषि यान्त्रिकरण, खरीद र विक्रीमा काम गर्ने हाम्रो लक्ष्य हो’, उनले भने ।

कम्पनीले भविष्यमा आफ्नै फार्मबाट कृषि उत्पादन गर्ने जनाएको छ । ‘ठाउँठाउँमा कृषि फार्महरु खोल्छौं, त्यहाँ हजारौ किसानलाई जोड्छौं’ पाठकले भने, ‘यससँगै मुलुकका जुनसुकै ठाउँमा पनि किसानले उत्पादन गरेका वस्तु खरीद गरी विश्व बजारसम्म पुर्याउँछौं ।’ विशेष गरी मुलुकका उत्पादनको आधुनिकीकरण गरी प्रबद्र्धन गर्ने र कृषि क्षेत्रलाई पर्यटनसँग जोडेर कृषकलाई उत्पादनसँग जोड्ने योजना बनाइएको उनले बताए ।

IMG_3695.JPG

कृषि शिक्षा, प्रविधि, दक्ष जनशक्ति लगायतका क्षेत्रमा शैक्षिक जागरण फैलाउन अनुसन्धानात्मक ढंगबाट समेत काम गरिने र यसले किसानलाई नयाँ प्रविधिसँग जोड्ने उनको भनाइ छ । जसले गर्दा उत्पादन लागत घटेर मुनाफा बढी हुने पाठकले बताए । उनले नेपालमा कृषि उत्पादनले बजार नपाइरहेको अवस्था आफूहरुको सहयोगले बजारीकरण हुनेसमेत विश्वास व्यक्त गरे ।

IMG_3685.JPG

नेपालका कृषि क्षेत्रको रुपान्तरण जरुरी रहेको उनले बताए । ‘हामीले केही काम गरेर सन्देश दिन चाहेका छौं’पाठकले भने–‘कृषि उत्पादन घटिरहेको छ । यस्तो अवस्थामा उत्पादित कृषि उपजले पनि बजार नपाउने गरेको छ । यसलाई हामी चिर्न चाहन्छौं ।’ कम्पनीले फरक ढंगले कृषि क्षेत्रमा काम गरी अगाडि बढ्ने उद्देश्य लिएको उनले बताए ।