
बुधवार , माघ ३०, २०८१
भैरहवा, ३० माघ । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्षको ६ महिनामा गत वर्षको भन्दा ७७ करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ५४ करोड ३४ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा ४ अर्ब ७७ करोड ८३ लाख ४५ हजार राजस्व संकलन गरेको थियो । गत वर्षको सोही अवधिमा संकलित राजस्व ४ अर्ब ७७ करोडको तुलनामा १६ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।
साउनदेखि पुस मसान्तसम्ममा ६ अर्ब ३३ करोड ३६ लाख ५२ हजार राजस्व संकलनको लक्ष्य पाएको भैरहवाले लक्ष्यको ८७ दशमलव ४९ प्रतिशत राजस्व संकलन गरेको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकाररी दिए । उनका अनुसार कार्यालयले पुस महिनामा मात्रै १ अर्ब ३ करोड राजस्व संकलन गरेको छ । १ अर्ब २३ करोडको लक्ष्य पाएको कार्यालयले उक्त राजस्व संकलन गरेको हो ।
कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा आयकरतर्फ ७८ करोड १९ लाख, मूल्य अभिवृद्धि करतर्फ ९३ करोड ९३ लाख र अन्तःशुल्कवापत ३ अर्ब ७३ करोड संकलन गरेको छ ।
अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्नु, नियमित बजार अनुगमन, बवयौता असुलीमा तीव्रता, कर परीक्षण र अनुसन्धानको प्रभावकारिता जस्ता कारणले राजस्व संकलनमा वृद्धि देखिएको उनको भनाइ छ ।
प्रमुख कर अधिकृत पोख्रेलले नक्कली भ्याट बिजक विक्री गर्ने १३ वटा शंकास्पद करदाताको छानबीन भइरहेको जानकारी दिए । उनले शंकास्पद कारोबार गर्ने ८९ करदाताको कारोबारको छानबीन तथा अनुसन्धान भइरहेको जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले बजेटमार्फत दिएको विशेष छुटको व्यवस्थापछि बाँकी बक्यौता तिर्नेहरूको संख्यामा पनि वृद्धि भएको कार्यालयको जनाएको छ ।
कार्यालयले आय विवरण बुझाउन बाँकी करदातालाई दिएको विशेष छुटको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जनाएको छ । कार्यालयले स्थायी लेखा नम्बर लिइ आय विवरण बुझाउन बाँकी रहेका करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा गर्ने जनाएको छ ।
त्यसै गरी २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने, मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा गर्ने आन्तरिक राजस्व कार्यालय भैरहवा जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij