२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गैडहवामा घरबास कार्यक्रमको तयारी, लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धनमा जोड

शुक्रवार , फाल्गुण २, २०८१

भैरहवा, २ फागुन । रुपन्देहीको गैडहवामा महिलाहरुलाई सीप प्रदान गरी होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ । पर्यटन प्रवर्द्धन तथा दीगो आर्थिक विकास र रोजगार सिर्जना गर्ने उद्देश्यसहित महिलाहरुलाई सीप प्रदान गरी घरबास सञ्चालनको तयारी गरिएको हो । 

सोही योजनाअनुसार मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत महिलाहरुका लागि होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिम सम्पन्न भएको छ । गैडहवा–४ मा अवस्थित गैडहवा ताललाई आन्तरिक तथा बाह्य पर्यटक लक्षित होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित स्थानीय उत्पादन र परम्परागत परिकारहरुलाई प्रवद्र्धन गर्ने गरी तालिम सञ्चालन गरिएको हो । तालिममा सिकेका सीपलाई प्रयोग गरी महिलाहरुले तयार पारेका विभिन्न परिकारहरुको स्वादसहित बुधबार विविध साँस्कृतिक कार्यक्रम गरी तालिम समापन गरिएको थियो । 

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले महिलाहरुलाई सीप र रोजगारसँग जोड्दै दीर्घकालीन आर्थिक गतिविधिमा जोड्ने प्रयास गरिएको बताए । उनले पर्यटन विकास र रोजगारका माध्यमबाट आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । 

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गैडहवालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि गाउँपालिकाले विभिन्न स्वरोजगारमुलक कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए । लुम्बिनी आएका पर्यटकलाई गैडहवा ताल तथा यहाँका अन्य पर्यटकीय स्थलहरुमा समेत ल्याउन सकेमा यहाँका जनताले ठूलो आर्थिक लाभ उठाउन सक्ने बताउँदै उनले सोही अनुसार योजना बनाएर अघि बढेको जानकारी गराए । 

वडा नम्बर ९ का अध्यक्ष मिना क्षेत्री, ७ का अध्यक्ष लालबहादुर केवट, १ का अध्यक्ष प्रदिप चौधरी, वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र सिंह कुर्मी लगायतले बोल्दै गैडहवा ताल र यहाँको सिमसार क्षेत्रको संरक्षण र प्रचारप्रसारमा जोड दिए । होमस्टे सञ्चालन गरी रोजगारीको अवसरलाई दिगोपन र स्थानीय जनतालाई आत्मनिर्भर बनाउन सकिने उनीहरुको भनाइ थियो ।

त्यसै गरी गाउँपालिका योजना शाखा प्रमुख रचना गौतम, लुम्बिनी होटल संघ, नेपालका महासचिव पुरुषोत्तम अर्यालल लगायतले बोल्दै तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्न जोड जोड दिए । 
लुम्बिनी घुम्न आउने पर्यटकलाई गैडहवासम्म आउने वातावरण निर्माणका लागि सरकारसँगै स्थानीयको समेत भूमिका महत्वपूर्ण हुने भएकाले पर्यटन संस्कृतिको विकासमा जोड दिए । 

गैडहवा गाउँपालिकाको आर्थिक सहयोग तथा सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा सञ्चालन गरिएको तालिममा गैडहवाका ३० जना प्रशिक्षार्थीहरुको सहभागीता थियो । स्थानीय परिकार र परम्परालाई प्रवर्द्धन गरी पर्यटक भित्र्याउन सकिने बताउँदै सशक्तिकरण विकास नेपालकी अध्यक्ष एलिजा खनालले आर्थिक गतिविधिमा जोडिन आग्रह गरिन् ।