२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

योजना छनोटको विधिलाई प्रभावकारी बनाउँछौं : मुख्यमन्त्री आचार्य

आइतवार , फाल्गुण ४, २०८१

  • 787
    Shares
  • 787
    Shares
  • दाङ, ४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आवधिक योजना र आयोजना बैंकमार्फत योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाइने बताएका छन् । लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना तर्जुमा सम्बन्धि प्रदेश विकास परिषद्को बैठकलाई शनिबार लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले टुक्रे आयोजनालाई निरुत्साहित गर्न आवधिक योजना र आयोजना बैंकले समेटेका योजनाहरुलाई वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताएका हुन् ।

    ‘प्रदेश सरकारले डाटाबेसमा रहेर योजना बनाउँछ । यो कामलाई प्राथमिकतामा राखेर अघि बढेका छौं’उनले भने,‘तथ्यांक र प्रमाणलाई आधार मानेर योजना छानिन्छन् । यसका लागि आवधिक योजना र आयोजना बैंकले हामीलाई सहयोग गर्नेछ ।’ 

    प्रदेश सरकारले नयाँ योजना थप्ने भन्दा पनि अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा राखेको, रणनीतिक रुपमा महत्व बोक्ने, प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने योजनालाई सरकारले प्राथमिकतामा राख्ने मुख्यमन्त्री आचार्यको भनाइ छ । ‘हरेक क्षेत्रमा तथ्यांकलाई योजना छनोटको आधार निर्माण गर्छौं । आयोजना बैंकमार्फत काम गर्छाैं । टुक्रे योजनालाई निरुत्साहित गर्न हामी गम्भीर छौं’उनले भने,‘आगामी बजेटमा टुक्रे योजना घटाउँछौं । यो सन्देश तलसम्म पुर्‍याउन जरुरी छ । दबाबमा होइन, तथ्यांक र प्रमाणको आधारमा योजना छान्न जरुरी छ ।’ 

    आवधिक योजनालाई प्रदेश मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुअघि प्रदेश विकास परिषद् बैठकमा प्राप्त सुझावहरुलाई समेटिने मुख्यमन्त्री आचार्यले बताए । ‘यहाँ प्राप्त महत्वपूर्ण सुझावलाई लिपिबद्ध गरेका छौं । योजना बिना हामी अगाडि बढ्यौं भने गन्तव्यमा पुग्न सकिदैन । यो सबैको साझा विषय बनेको छ’उनले भने,‘सरकारले अघि बढाएको प्राथमिकताको कार्ययोजनामा सबैको साझा ऐक्यवद्धता पाएको छु ।’ 

    प्रदेश सरकार स्थापना भएदेखिको अवधिमा भएको प्रगतिलाई नजरअन्दाज गर्न नहुने उनले बताए । प्रदेश सरकार स्थापना भएपछि विकास निर्माणको कामले गति लिएको, गाउँ शहरको मुहार फेरिएको, जनताको आधारभूत आवश्यकताहरु पुरा गर्न सरकारले सफलता प्राप्त गरिरहेको उनले स्पष्ट पारे । ‘सात वर्षअघिको अवस्था र सात वर्षपछिको अवस्थालाई तुलना गरौं । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, उद्यमशीलता लगायतको अवस्था के थियो ? अहिले के उपलब्धीरु प्राप्त भएका छन् । तुलना गरेर विश्लेषण गर्न जरुरी छ’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश सरकारले सम्पादन गरेका कामहरुले सकारात्मक नतिजा र उपलब्धी दिएको छ ।’ 

    बैठकलाई पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दकाल नेता डिल्ली बहादुर चौधरी, पूर्वमुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा लगायतका वक्ताहरुले सम्वोधन गर्दै योजनाबद्ध विकास र प्रदेशका प्राथमिकताका आधारमा आवधिक योजनाले दिशानिर्देश गर्नुपर्नेमा जोड दिएका थिए ।