२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल एएसीले जित्यो पहिलो चेम्बर क्रिकेट च्यालेन्जको उपाधि

आइतवार , फाल्गुण ४, २०८१

भैरहवा, ४ फागुन । शनिबार भैरहवामा सम्पन्न पहिलो चेम्बर क्रिकेट च्यालेन्ज–२०८१ को उपाधि नेपाल एएसी कम्पनी प्रालिले जितेको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सम्पन्न प्रतियोगिताको उपाधि नेपाल एएसीले जितेको हो । 

सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा नेपाल इन्जिनियर एशोशिएसन लुम्बिनी प्रदेशलाई २ विकेटले पराजित गर्दै नेपाल एएसीले उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको इन्जिनियर एशोसिएसनले निर्धातिर ५ ओभरमा सबै विकेट गुमाएर २९ रन बनायो । जवाफी ब्याटिङ गरेको नेपाल एएसीले २ विकेट गुमाएर ३० रन बनाउँदै जीत निकाल्यो । विजेता र उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पहिलो सेमिफाइनलमा इन्जिनियर एशोसिएसनले चित्रगुप्त युवा सेवा समितिलाई ५ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । चित्रगुप्तले ३ विकेट गुमाएर ६४ रन बनायो । इन्जिनियर एशोसिएसनले ६५ रन बनाउँदै ५ विकेटको जीत निकाल्यो । लिग चरणमा इन्जिनियर एशोसिएसनले सामूहिक विद्यालय परिवार, रुपन्देहीलाई ४ विकेटले हराएको थियो । सामूहिकले ३ विकेट गुमाएर ५१ रन बनायो भने इन्जिनियर एशोसिएसनले १ विकेट गुमाएर ५२ रन बनायो र ४ विकेटले जीत निकाल्यो ।

नेपाल एएसीले सेमिफाइनलमा लुम्बिनी प्रेस क्लबलाई ५ विकेटले हरायो । प्रेस क्लबले ४ विकेट गुमाएर २३ रन बनायो भने नेपाल एएसीले २४ रन बनाइ जीत निकाल्यो । त्यसअघि लिग चरणमा नेपाल कमर्शियल आर्टिस्ट संघलाई नेपाल एएसीले ९ रनले हराएको थियो । नेपाल एएसीले ४३ रन बनाएको थियो भने आर्टिस्ट संघले ३ विकेट गुमाएर जम्मा ३४ रन बनायो ।

लिग चरणमा लुम्बिनी प्रेस क्लबले चेम्बर अफ कमर्शलाई ३९ रनले हराएको थियो । प्रेस क्लबले १ विकेट गुमाएर ७३ रन बनायो भने चेम्बरले ४ विकेट गुमाएर ३५ रन बनाएको थियो । खेलमा नेपाल एएसीका इन्द्रजित यादव म्यान अफ द सिरिज, इन्जिनियर एशोसिएसनका मनिष पौडेल बेष्ट ब्याटर, नेपाल एएसीका अर्वाज खान बेष्ट बलर र इन्जिनियर एशोसिएसनका मनिष पौडेल मोष्ट सिक्सेस प्रहार गर्ने खेलाडी बने ।

विजेता र उपविजेता खेलाडीलाई चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, महासचिव लक्ष्मी अधिकारी, खेल संयोजक तथा संस्थाका सचिवालय धिरज कुमार मल्लिक, उद्योगी सुरज उप्रेती लगायतले पुरस्कार वितरण गरेका थिए । संस्थाले आफ्नो १९ औं स्थापना दिवसका अवसरमा पहिलोपटक चेम्बर च्यालेन्ज क्रिकेट आयोजना गरेको हो । प्रतियोगितामा ७ वटा टीमले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गरेका थिए ।