२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एकलाख पुरस्कारको शाइन रेसुंगा राष्ट्रिय दौडमा नाम दर्ता गराउने म्याद भोलिसम्म

बिहिवार , फाल्गुण ८, २०८१

बुटवल, ८ फागुन । सर्वाधिक राशीको ‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ ( दौड प्रतियोगिता) मा भाग लिन नाम दर्ता गराउने म्याद शुक्रबार (दिउँसो) सम्म बाँकी छ । बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा फागुनको ११ गते बिहान ७ बजे आयोजना हुने दौड प्रतियोगिताको लागि फागुन ९ गते शुक्रबार दिउँसो १२ बजेसम्म अनलाइनबाट वा बैंकको केन्द्रीय कार्यालय बुटवलमा पुगेर फर्म भरी नाम दर्ता गराउन सकिने बैंकले जनाएको छ । 

बिहीबारसम्म नाम दर्ता उत्साहजनक रहेको र कार्यक्रमलाई भव्य बनाउन धेरैभन्दा धेरै धावक सहभागी होउन् भन्ने बैंकको उद्देश्य रहेको प्रमुख पकार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।  ‘रन टु साइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रियस्तरको महिला÷पुरुष खुला, स्थानीय र ५० वर्षमाथि गरी ३ विधा समावेश गरिएको छ ।

प्रतियोगिताको पुरस्कार राशी पाँच लाख रुपैयाँ रहेको छ । खुलातर्फको महिला÷पुरुष विजेताले एक–एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको यो पुरस्कार रकम नेपालकै सर्वाधिक रकम  हो । 

खुलातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुने धावकले रु.१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले २५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

इच्छुक सहभागीले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वेबसाइटमा गएर निःशुल्क नाम दर्ता गर्न सक्नेछन् । रुपन्देहीको बुटवलस्थित बैंकको केन्द्रीय कार्यालयमा समेत भौतिक रूपमा फारम भरी नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । बुटवलको कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट फागुन ११ गते बिहान ७ बजेदेखि सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुनः केन्द्रीय कार्यालय परिसरमै पुगेर समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पुर्याउने उद्देश्य अनुरूप दौड प्रतियोगिताको आयोजना गर्न लागिएको र यसमा धेरै भन्दा धेरै धावकको सहभागिताको अपेक्षा गरिएको बताए ।

‘विभिन्न सामाजिक क्रियाकलापमा बैंकको भूमिका अग्रणी नै रहँदै आएको छ, राष्ट्रियस्तरको यो दौड प्रतियोगितामा पनि स्थानीयदेखि देशभरका धावक सहभागी गराएर खेलकुद र समाजप्रति उत्तरदायित्व नयाँ ढंगले पूरा गर्ने अवसरको रूपमा लिएका छौं’पौडेलले भने–‘यो दौड प्रतियोगिता सबैको उत्सव होस् भन्ने हाम्रो अपेक्षा छ ।’ 

बैंकका अनुसार बिहीबारसम्म करिब १ हजारजनाले नाम दर्ता गराएका छन् । प्रतियोगिताको व्यवस्थापनको जिम्मा लिएको कखरा इभेन्टले ५ हजार जनासम्मले भाग लिए पनि व्यवस्थापन गर्ने गरी तयारी भएको जनाएको छ । प्रतियोगिताको सद्भावना दुतमा बैकुण्ठ मानन्धर नियुक्त भएका छन् ।