
आइतवार , फाल्गुण ११, २०८१
रुपन्देहीको सदरमुकाम भैरहवामा बसेर मिडिया सञ्चालन गरेको पनि एक दशक भएछ । एक युग जस्तो लाग्ने यो एक दशक साँच्चिकै ऐतिहासिक रह्यो । हुन त मिडियामा आबद्ध भएको १२ वर्ष भएपनि सुरुवातको दुई वर्षलाई मैले सिकाइको रुपमा लिन पाएँ अथवा भनौ–परीक्षण काल । २०७१ फागुन ११ मा गौतमबुद्ध सन्देश पत्रिकाको स्थापना र सञ्चालन गर्नु त्यति सहज काम थिएन । अहिलेको जस्तो स्रोत र साधनको सहज उपलब्धता थिएन त्यो बेला । त्यसअघि र पछि सञ्चालनमा आएका अधिकांश मिडियाहरु नियमित हुन नसकेकोे अवस्थामा हामीले पत्रिकालाई एक दशक सञ्चालन गर्नु मुख्य उपलब्धी नै हो जस्तो लाग्छ ।
भैरहवाबाट तत्कालीन अवस्थामा प्रकाशन हुने लुम्बिनीखबर साप्ताहिक (हाल अर्धसाप्ताहिक) हालसम्म नियमित प्रकाशनमा रहेको पत्रिका हो । केही समय अगाडि प्रकाशनमा रहेको सिद्धार्थ सन्देश दैनिक पत्रिका केही महिनामै बन्द हुन पुग्यो । २०७१ सालमा गौतमबुद्ध सन्देश साप्ताहिक (हाल दैनिक) पत्रिका पछि प्रकाशन सुरु गरेका बुद्ध बिहानी दैनिक, लुम्बिनी पोष्ट साप्ताहिक, नारीविम्ब साप्ताहिक, बुद्धध्वनी साप्ताहिक, अब्बल साप्ताहिक (पछि गौतमबुद्ध सन्देश दैनिक पत्रिकासँग मर्ज भइ प्रकाशन बन्द गरेको), न्यूज ओके साप्ताहिक ले यस क्षेत्रको लागि धेरै कुरा दिएका छन् । छापा माध्यमसँगै यहाँस्थित एफ.एम.रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमले यस क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, खेलकुद, शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्रको विकासका लागि उल्लेख्य भूमिका खेलेका छन् । आवाजबिहीनको आवाज र सहाराबिहीनका सहारा बन्न सफल भएका छन् ।
एक दशकको अवधिमा देशमा धेरै परिवर्तन भएको छ । संविधान जारी भएको छ, जननिर्वाचित सरकार बनेका छन् । देशमा संघीयता कार्यान्वयनमा आएको छ । स्थानीय, प्रदेश र संघ गरी तीन तहका सरकारले सेवा दिइरहरेका छन् । दुईपटक आम निर्वाचन भइसकेको छ । देश राजसंस्थाबाट गणतन्त्रसम्म आएको यो सुनौलो समयको अनुभव धेरै कमैले पाउँछन् । आमूल परिवर्तनका लागि एक युग नै कुर्नुपर्ने भनाइलाई मैले यही एक दशकमै अनुभव गर्ने अवसर पाएँ । यही दशकमै विभिन्न प्राकृतिक प्रकोपले दिएका पीडाहरु, भयावह रोगको संक्रमण, विभिन्न मुद्वाहरुमा भएका आन्दोलनहरु भोगे । २०७२ सालको भुकम्प, मधेश आन्दोलन, कोरोना कहरका अवरोधहरु साँच्चै पीडादायी थिए । मिडियाहरुका लागि भने फलामका चिउरा चपाउनु जस्तै भए । यी सबै घटनाक्रमले धेरै पाठ सिकाएका छन्, अझै पनि मानिसहरु सामान्य अवस्थामा फर्किन सकेका छैनन् । यी सबै घटनाहरुको समाचार लेख्ने र प्रकाशित गर्ने अवसर मिल्यो ।
पछिल्लो समय नेपालमा आर्थिक मन्दीले मिडिया अस्तव्यस्त छन् । न मिडिया चलाउन सक्ने अवस्था छ, न बन्द सकिन्छ । दोधारै दोधारमा चलिरहेका मिडियाहरु दोधारे पारामा कति दिन चल्ने हुन्, थाहा छैन । न्यू मिडियाको विकासक्रमले छापा माध्यमलाई अठ्याएको छ । छापा मात्र होइन, रेडियो र टेलिभिनको हालत पनि उस्तै छ । स्रोताका रेडियोको ट्युन अफ छ, दर्शकको टेलिभिजनमा धुलो टाँसिएको छ । सम्हालिनसक्नु सामाजिक सञ्जाल र स्वघोषित पत्रकारको बिगबिगीले व्यवसायिक पत्रकारिता, करोडांै लगानीका मिडिया हाउसहरुको भविष्य के हो कसैसँग जवाफ छैन । पाठकहरु वास्तविक भन्दा हल्लामा बढी विश्वास गर्नुपर्ने भ्रममा छन् । हिजो पाठकलाई बुझाउन सजिलो थियो, अहिले पाठकले धेरै बुझेर (वास्तविकता भन्दा बाहिर) समस्या छ । वास्तविक मिडियाको मर्म र धर्म ओझेलमा छ । मिडिया सञ्चालनको प्रमुख आर्थिक स्रोत विज्ञापन बजार सुस्ताउँदै जादा सञ्चार माध्यमहरु सहज रुपमा सञ्चालन हुन सकिरहेका छैनन् । यी सबै कुराको गहिरो अनुभव मैले भोगेको छु ।
मिडियामा आबद्ध हुनु मेरो संयोग मात्र होइन, हुटहुटी र इच्छाशक्तिका कारण नै अन्य विकल्पलाई थाती राख्दै यो पेशा रोजेको हुँ । सम्भवत अबका दिनमा मिडिया÷पत्रकारिता पेशाभन्दा बाहिर निस्कन सम्भव छैन, भलै माध्यम फरक होला । सञ्चार कर्ममा एक दशक बिताउँदा छापा, रेडियो र अनलाइन सञ्चार माध्यममा काम गरेँ । समयको पालना, सदुपयोग, अध्ययन अनुसन्धान, विचार, शैली, योजना र अवसरका विविध विषयमा सिक्ने मौका पाएँ ।
अहिले प्रविधिले सञ्चार क्षेत्रलाई सहज बनाएको छ, सँगै चुनौती पनि । पाल्पा (जन्मस्थल) मा रहँदा क्रमशः कटुवाल प्रथा (घोक हाल्ने), मान्छेमार्फत खबर पठाउने चलन, चिठ्ठी पठाउने चलन, सिडिएमए फोन (हप्तामा एकदिन गाउँमा ल्याउँथे वा अर्काे गाउँमा फोन गर्नको लागि जानुपर्ने जसका लािग जानआउन दिनभर नै लाग्ने गरेको थियो), मोबाइल फोन (त्यो बेला छिटफुट मात्र थिए) को अनुभव लिन पाएँ । अबका सन्ततिले यस्तो किसिमका सूचनाका माध्यमहरु अनुभव गर्न सायदै नपाउँलान् । सूचना प्रविधिको विकाससँगै अहिले संसार स्मार्ट बनेको छ । सबै कुरा स्मार्ट । इमेल इन्टरनेटदेखि एआई प्रविधिको विकास भएको छ । संसार मुठ्ठीमा छ भन्ने गरिन्छ । सायद सुचनाको पहँुचबाट टाढा कमै होलान् । छिनभरमै पाउन सकिने सूचना जानकारीले सबैलाई सहज बनाएको छ ।
यता, सञ्चार माध्यममा पनि प्रविधिले सहज बनाएको छ। रिल क्यामेरा, सिडि भिसिडि, क्यासेट, फ्याक्सको अनुभव मैले लिएँ । अहिले हुलाक सेवा (पहिला चिठ्ठीहरु पठाउने गरेको थिए, अहिले डकुमेन्टहरुको हार्डकपी पठाउनुपर्दा प्रयोग गरिदै आएको), पेनड्राइभको प्रयोग केही मात्रामा गरिदै आएको छ । इमेल, इन्टरनेटले यी परम्परागत प्रविधिहरुलाई विस्थापित गर्दै लगेको छ । अहिले सहज तरिकाले छिनभरमै फाइलहरु पठाउन सकिने भएको छ । छापा पत्रिकाहरुमा प्रयोग हुने डिजाइन र प्रिन्टका कामहरुमा सहजता आएको छ । पत्रिका प्रकाशनका लागि आवश्यक डिजाइनका सफ्टवेयरहरुमा काम गर्न सुरुवाती दिनहरुमा दिनभर नै लाग्ने गर्दथ्यो अहिले केही घण्टामै गर्न सकिने सफ्टवेयरको प्रयोग भइरहेका छन् । पत्रिका प्रिन्टका लागि ट्रेसिङ पेपर प्रयोग गरिन्थ्यो भने अहिले सिटिपी प्लेटको प्रयोग गरिदै आएको छ । अबका दिनमा अझै सहज प्रविधिको प्रयोग होला ।
बितेका एक दशकमा भोगेका मेरा भोगाइहरु केवल अनुभव मात्र होइनन्, सिकाइहरु पनि हुन् । यी सिकाइ, भोगाइ र अनुभवहरु आगामी दिनका लागि मार्गदर्शक बन्नेछन् भन्ने मेरो बुझाइ छ । कामका सिलसिलामा भेटिएका, छुट्टिएका, मेटिएका, भत्किएका, टिपिएका, लेखिएका, नलेखिएका, देखिएका, नदेखिएका हरेक चिजहरु यात्रामा भेटिएका सहयात्रीहरु हुन् । कोही कुन बाटोमा भेटिए, कोही कहाँ छुट्टिए । केही समाचार बनेर पाठकसामु पुगे, केही विचारहरु बनेर । केही छलफलमै, केही गफगाफमै टुंगिए । केही साथमै छन्, ती विस्तारै पन्छिनेछन् समयअनुसार, विविध किसिमले घुम्तीघुम्तीमा । केही डायरीमा लेखिनेछन्, केही दिमागमै देखिनेछन् ।
यो एक यात्रा हो, अविरल यात्रा ।
(भट्टराई, रुपन्देहीको भैरहवाबाट प्रकाशन हुने गौतमबुद्ध सन्देश दैनिक पत्रिकाका प्रबन्ध सम्पादक हुन् ।)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij