
आइतवार , फाल्गुण ११, २०८१
तिलोत्तमा–७, रुपन्देही । नेपालका युवाहरू बिहान उठ्नेबित्तिकै मोबाइलमा नयाँ वैदेशिक रोजगारीका अवसर खोज्छन् । कतै कसैले मलेसिया, कतै कोरियाको ईपीएस, कतै युएई, कतै कतार, कतै जापानको टीआईटीपीको भिसा लागेको खबर सुन्छन् । अनि ती खबरहरू हेर्दै उनीहरू गहिरो सोचमा पर्छन्—‘म पनि विदेश जानुपर्छ कि ?’
कसैले नबुझे पनि, अहिले नेपालमा यस्तै समय आएको छ जहाँ विदेश जान नसक्ने युवाहरू मानसिक तनावको सिकार भइरहेका छन् । एकजना युवा कुनै कारणवश भिसा लगाउन सकेन भने उ डिप्रेसनमा जान्छ । समाजले सोध्छ—‘अझै यही छौ ? ‘अझै नेपालमै जागिर खोज्दै छस् ?, ‘कोरियाको परीक्षा पास भएन ?’, ‘दुबईको भिसा किन लगाएनौ ?’ यी प्रश्नहरू आजका नेपाली युवाहरूले हरेक दिन सुन्नुपर्छ । किनभने नेपालमा अवसर नभएको होइन, तर अवसरहरू यति सीमित छन् कि त्यहाँ काम गर्दा आफ्नो भविष्य नै अध्यारो देखिन्छ ।
नेपालमा एउटा सामान्य जागिरको तलब १२ हजारदेखि २५ हजार रूपैयाँ मात्र छ । यस्तो तलबले अहिलेको जीवनशैली धान्न सकिन्छ त ? स्वास्थ्य बीमा छ ? घरभाडा कहाँबाट तिर्ने ? परिवार पाल्न सकिन्छ ? खाना, लत्ताकपडा, यातायात खर्च, आपतकालिन खर्चहरू के गर्ने ? हरेक महिना कम्तीमा ४० हजार देखि ५० हजार रूपैयाँ आम्दानी नभएसम्म शहरी क्षेत्रमा बाँच्नै कठिन छ । यस्तो अवस्थामा १२ हजार रूपैयाँको तलबमा नेपालमै काम गर्ने कि विदेश गएर १ लाख कमाउने ? आज युवाहरूका लागि यही मुख्य प्रश्न बनेको छ ।
शिक्षाले योग्य बनाउने हो कि बेरोजगार बनाउने ?
नेपालका विश्वविद्यालयहरू विद्यार्थीलाई किताबी ज्ञान मात्र दिँदैछन् । कुनै सीप सिकाइँदैन । कसरी जागिर खोज्ने ? कसरी इन्टरभ्यू पास गर्ने ? कसरी कम्पनीमा काम गर्ने ? यी आधारभूत कुरा समेत पढाइँदैन । फलस्वरूप, डिग्री लिएको भए पनि रोजगारको वातावरणमा फिट हुन सक्दैनन् ।
नेपालमा इञ्जिनियर पढ्ने विद्यार्थीहरू व्यवहारिक ज्ञान बिना डिग्री लिएर निस्कन्छन् । व्यवस्थापन पढ्ने विद्यार्थीहरूले कार्यालयमा काम गर्ने अनुभव पाउँदैनन् । अनि जब जागिर खोज्न निस्कन्छन्, उनीहरूलाई ‘अनुभव चाहिन्छ’ भनेर फर्काइन्छ।
नेपालको शिक्षाले विद्यार्थीलाई परम्परागत ज्ञानमा मात्र सीमित बनाएको छ । यदि शिक्षाले सीप दिएन भने, त्यो शिक्षा के का लागि ? बाजा बजाउन, नाँच्न, सिलाई बुनाई गर्ने जति ज्ञान दिइन्छ, प्रविधिको दुनियाँमा काम लाग्ने ज्ञान कहाँ छ ? प्रविधिले विश्वभर रोजगारी सिर्जना गरिरहेको छ, आर्टिफिशियल इन्टेलिजेन्स (एआई) , डाटा साइन्स, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङजस्ता क्षेत्रमा लाखौं अवसरहरू खुल्दैछन् । तर, नेपालका विश्वविद्यालयहरूले तिनै पुराना किताबहरू मात्र घोकाउँछन् । विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउने वातावरण छैन ।
नेपालका स्नातक तहका विद्यार्थीहरूसँग फेसबुक, टिकटक चलाउने सीप छ । तर, एउटै कम्प्युटरमा प्रभावकारी रूपमा काम गर्न सक्दैनन् । एउटा अनलाइन फारम भर्न समेत जानेका छैनन् । प्रविधिमा आधारित जागिरहरू नेपालमै सिर्जना गर्न सकिन्छ, तर यसका लागि शिक्षाको प्रणाली बदल्नुपर्छ । शिक्षा प्रणाली व्यवहारिक नभएसम्म रोजगारको संकट समाधान हुँदैन ।
कम तलब, बढ्दो महंगी अनि रोजगारीको अस्थिरता
नेपालमा काम त छ, तर त्यो कामले जीविका चल्छ कि चल्दैन ? नेपालमा मध्यम तहको जागिरको तलब औसत २५ हजार रूपैयाँ छ । तर, काठमाडौं, पोखरा, चितवनजस्ता शहरहरूमा एकजना व्यक्तिले महिनाको ५० हजार रुपैयाँ भन्दा कममा सहज रूपमा बाँच्न सक्दैन ।
घरभाडा – कम्तीमा ३ हजारदेखि ५ हजार रूपैयाँ
खाना खर्च – ५ हजार रूपैयाँ
यातायात खर्च – ३ हजार रूपैयाँ
स्वास्थ्य सेवा र आपतकालीन खर्च – १० हजार रूपैयाँ
अन्य खर्चहरू (कपडा, सामाजिक कार्य, मनोरञ्जन)– १० हजार रूपैयाँ
अब सोच्नुस्, २५ हजार रूपैयाँको तलबमा यी सबै खर्च धान्न सम्भव छ ? यही कारणले युवा विदेश जान चाहन्छन् । नेपालमा उद्योगहरू ठप्प छन् । उत्पादनशील क्षेत्रहरू बन्द छन् । सरकारले ठूला उद्योग खोल्ने, वैदेशिक लगानी भित्र्याउने, वा नयाँ रोजगारी सिर्जना गर्ने कुनै ठोस योजना बनाएको छैन । त्यसैले विदेश जानु नै एकमात्र विकल्प जस्तो देखिन्छ ।
राजनीतिक अस्थिरता : युवाको भविष्य कसले सोच्ने ?
नेपालमा हरेक वर्ष नयाँ रोजगारी सिर्जना गर्ने योजना घोषणा गरिन्छ । सरकारले भन्छ—‘५० हजार नयाँ रोजगारी सिर्जना गरिन्छ । ‘स्वदेशमै लाखौं रोजगारका अवसरहरू उपलब्ध गराइन्छ’, तर वास्तविकता के छ ? सरकारी जागिर सीमित छ । त्यो पनि पहुँचवालाले मात्र पाउँछन् । निजी क्षेत्र टिक्न सकिरहेको छैन । कर प्रणाली, भ्रष्टाचार, सरकारी झण्झटले उद्योग व्यवसाय सञ्चालन गर्नै कठिन छ । विदेशी लगानीकर्ताहरू नेपालमा आउन डराउँछन् । किनभने सरकारी प्रक्रिया नै अप्ठ्यारो छ ।
उद्योगहरू बन्द हुँदैछन् । नेपालमा उत्पादन नभएपछि काम पनि हुँदैन । नेपालको राजनीति रोजगारमुखी छैन । राजनीतिज्ञहरू सत्ता जोगाउन मात्र व्यस्त छन् । युवाको भविष्य कसैले सोच्दैन ।
विदेशमा नेपालीको संघर्ष : डिग्रीको कुनै मूल्य छैन
नेपालमा मास्टर र पीएचडी गरेका युवाहरू जब विदेश जान्छन्, उनीहरूलाई ठूला अफिसमा काम मिल्दैन । नेपालमा इञ्जिनियरिङ, व्यवस्थापन, कानून जस्ता कठिन विषयमा डिग्री लिएर निस्किएका युवाहरू विदेश पुगेपछि होटलका टेबल सफा गर्न, भाँडा माझ्न, रेष्टुरेण्टको किचनमा सहयोगी बन्न कुनै हिच्किचाहट मान्दैनन् किनभने उताको श्रम नै नेपालभन्दा धेरै महंगो छ ।
विदेशमा एक हप्ता मात्र मिहिनेत गरे पनि नेपालीहरूले ७० हजारदेखि ८० हजार रुपैयाँसम्म कमाउँछन् । नेपालमा अफिसमा बसेर महिनाभर २५ हजार कमाउनु भन्दा विदेशमा पसिना बगाएर महिनाको १ लाख रुपैयाँ कमाउन उनीहरू तयार छन् । प्रश्न उठ्छ—के यो नेपाली श्रम बजारको असफलता होइन ? किन नेपाली युवाहरूलाई आफ्नै देशमा योग्य कामको अवसर मिल्दैन ?
नेपालमा जागिरको अभाव छैन । तर, ती जागिरहरूले परिवार पाल्न पुग्छ त ? एउटा स्नातक पास युवा नेपालमा काम गर्याे भने उसको तलबले खान, बस्न र दैनिक खर्च मात्र धान्छ, तर भविष्यको बचत गर्न सक्दैन । आफ्नै देशमा दिनरात मिहिनेत गर्दा जीवनभर एउटा घर बनाउने सम्भावना न्यून हुन्छ, तर विदेश गएर ५–७ वर्ष काम गरेपछि घर–जग्गा किन्ने स्थिति आउँछ ।
नेपालको समस्या जागिर नभएर, उचित पारिश्रमिक नभएको हो । डिग्री हासिल गरेका युवाहरू नेपालमा आफ्नो सीपअनुसारको रोजगारी नपाएपछि बाध्य भएर विदेश जान्छन् । आखिर नेपालमै पसिना बगाएर किन त्यस्तो कमाइ गर्न सकिँदैन ?
नेपालमा काम नभएको होइन, समस्या पारिश्रमिक र अवसरको छ । जबसम्म नेपालले दक्ष जनशक्तिलाई उचित पारिश्रमिक र स्थिर भविष्यको आश्वासन दिन सक्दैन, तबसम्म युवाहरू विदेशिने क्रम रोकिदैन ।
नेपालका युवाहरू विदेशिनुको कारण केवल अवसरको अभाव मात्र होइन, सोचाइ पनि हो । यहाँ श्रमलाई सम्मान गरिन्न, सीपलाई मूल्य दिइन्न, अनि योग्यतालाई अवसर दिइन्न । जबसम्म हाम्रो प्रणाली परिवर्तन हुँदैन, तबसम्म नेपाली युवाहरू देश छोड्न बाध्य नै रहन्छन् ।
अन्ततः प्रश्न उठ्छ, दोष कसको ? व्यवस्था परिवर्तन गर्न नसक्ने सरकारको ? कि अवसर सिर्जना गर्न नसक्ने समाजको ? कि आफ्नै श्रमको उचित मूल्य नपाएर विदेसिन बाध्य युवाहरूको ? उत्तर जोसुकैको भए पनि यथार्थ भने यही हो । लाखौं नेपालीले विदेशिन छाड्ने दिन अझै टाढा छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij