
शुक्रवार , फाल्गुण १६, २०८१
धेरै नेपाली घरपरिवारमा मानसिक स्वास्थ्य भन्ने कुरा या त बुझिदैन वा पूरै वेवास्ता गरिन्छ । अभिभावकहरू प्रायः आफ्ना सन्तानको संघर्षलाई सामान्य चरण वा कमजोरीको रूपमा हेर्छन् । तर, उनीहरूलाई वास्तविक स्वास्थ्य समस्या भनेर स्वीकार्दैनन् । यो केवल चेतनाको अभाव मात्र होइन । तर, भौतिक अस्तित्वलाई भावनात्मक कल्याण भन्दा प्राथमिकता दिने गहिरो साँस्कृतिक मानसिकता हो ।
सन्तानले आफ्नो पीडा व्यक्त गर्दा अभिभावकबाट सुन्न पाइने सबैभन्दा सामान्य वाक्य हो, ‘खान लाउन दिएकै छ त, के चाहियो अरू ?’ यो वाक्यले पुस्तागत खाडललाई झल्काउँछ, जसले मानसिक स्वास्थ्यको बारेमा गहन संवाद हुनै दिदैन । हो, आधारभूत आवश्यकताहरू पूरा हुनु जरुरी छ, तर भावनात्मक समर्थन, समझ र स्वीकृति पनि उत्तिकै महत्वपूर्ण हुन्छ । धेरै अभिभावकहरू आफ्ना संघर्षहरू अझ कठिन थिए भन्ने धारणा राख्छन् र त्यसैले आफ्ना सन्तानहरूको पीडा तिनको अगाडि सानो देख्न खोज्छन् । तर, दुःख प्रतिष्पर्धा होइन ।
अर्को ठूलो समस्या भनेको नेपाली अभिभावकहरूले प्रायः आफ्ना अनुभवहरू आफ्ना सन्तानहरूमाथि थुपार्ने गर्छन् । उनीहरूलाई लाग्छ कि यदी तिनीहरूले कुनै भावनात्मक समर्थन बिना नै संघर्ष पार गरे भने, उनका सन्तानहरूले पनि त्यस्तै गर्नुपर्छ । यहीबाट भावनात्मक उपेक्षा सुरु हुन्छ । ‘हाम्रो जमानामा यस्तो थिएन, हामी आफै सम्हाल्थ्यौं’ भन्ने जस्ता कथनहरूले अहिलेको पुस्ताको संघर्षलाई पूरै अस्वीकार गर्छ । समयसँगै परिपक्व हुनुभन्दा तिनीहरू पुराना दृष्टिकोणहरू जबर्जस्ती थुपार्न खोज्छन्, जसले गर्दा सन्तानहरूले भावनात्मक घुटन महसुस गर्छन् ।
डिप्रेशन र चिन्ताजस्ता मानसिक स्वास्थ्य समस्याहरूलाई ‘अत्यधिक सोचाइ’ वा ‘कमजोरी’ भनेर उडाउने प्रवृत्ति अझै गहिरोसँग जरा गाडेर बसेको छ । जब कुनै सन्तानले आफ्नो पीडा व्यक्त गर्छ, तब उसलाई सहजै भनिन्छ, ‘सोच्नै छोड न, आफै ठीक हुन्छ । तर, यदि यो यति नै सजिल हुन्थ्यो भने, के सबैले सोच्न छोडेर निको हुन सक्दैनथे ? के अस्पतालहरू खाली हुने थिएनन् ? यदी समस्या यति नै सामान्य हुन्थ्यो भने, के संसारभरी यति धेरै मानिसहरूले वर्षौंसम्म दुःख भोग्नुपर्ने थियो ? के आत्महत्या गर्नेहरू केवल ‘धेरै सोचेर’ मर्न जानेका हुन् ? वास्तविकता के हो भने, मानसिक स्वास्थ्य समस्या जटिल हुन्छन्, जसका लागि प्रायः प्रशिक्षित व्यक्ति र औषधि आवश्यक पर्छ । तर, धेरै नेपाली अभिभावकहरूको लागि मानसिक स्वास्थ्यको औषधि लिनु कमजोरीको संकेत हो । उनीहरू बारम्बार आफ्ना सन्तानहरूलाई दबाब दिन्छन् कि औषधि बन्द गर, किनभने तिनीहरू विश्वास गर्छन् कि ‘इच्छाशक्ति’ नै सबै कुराको समाधान हो ।
तर उनीहरूले बुझ्दैनन् कि सन्तानहरूले कति कठिन संघर्ष गरेका छन्–अगिन्ती रातहरू बिना निद्रा बिताएर, निरन्तर थकानमा डुबेर, थकित शरीर र आत्माले सीमाना पार गर्नुपरेको छ । उनीहरूले भावनात्मक संकुचनको बोझ झेलेर, अन्ततः विषेशज्ञको सहारा खोजेका छन् । तर, कसमतको अन्दाजमा, उनीहरूलाई समर्थन गर्नुको सट्टा, ‘तिमीले आफैं ठीक पार्नुपर्छ, सधैं औषधिमा भर पर्न मिल्दैन’ जस्ता शब्दहरूले थप गहिरो चोट पुर्याउँछन् । यस्ता शब्दहरूले हृदयमा एउटा अनकूल घाउ छोड्छ र सन्तानलाई अझ धेरै एक्लो, अशक्त र अँध्यारोमा धकेलिदिन्छ ।
अभिभावकहरूको यस्तो असंवेदनशील व्यवहारले झनै नोक्सान गर्छ । यसले सन्तानको मनभित्र एक शान्त लडाई सिर्जना गर्छ, जसले गर्दा उनीहरू आफू नबुझेको, असमर्थित र अयोग्य महसुस गर्छन् । हाम्रो समाजमा भावनात्मक अभिव्यक्तिलाई कमजोरीको रूपमा हेरिन्छ, जसले गर्दा असंख्य युवाहरू एक्लै दुःखी भइ बाँच्न बाध्य छन् ।
सत्य कुरा के हो भने, नेपाली अभिभावकहरू यस्तो सोच राख्छन् कि खानेकुरा, शिक्षा र बसोबास प्रदान गर्नु नै अभिभावकत्वको पूर्णता हो । तर, सन्तानहरू केवल शारीरिक अस्तित्व मात्र होइनन्—उनीहरूका भावना, डर र संघर्षहरू पनि हुन्छन्, जसलाई बुझ्नु अत्यावश्यक छ । आर्थिक सहयोग गर्नु भावनात्मक समर्थन दिनु समान होइन ।
अब यो चक्र तोड्ने बेला आएको छ । अभिभावकहरूले सुन्नुपर्छ, केवल सुन्ने मात्र होइन, बुझ्नुपर्नेछ । केवल अस्वीकार गरेर हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा, तिनीहरूले समयसँगै परिपक्व हुन सिक्नुपर्छ, ताकी पुराना अडानहरूले सन्तानहरूको मानसिक स्वास्थ्यलाई निरन्तर नास नगरोस् । मानसिक स्वास्थ्य वास्तविक हो । संघर्ष वास्तविक हो र अभिभावकहरूको वास्तविक समर्थन आवश्यक छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij