२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सहजताका लागि प्रवेशद्वार थप गर्न एमालेको सुझाव

मंगलवार , फाल्गुण २०, २०८१

  • 895
    Shares
  • 895
    Shares
  • बुटवल, २० फागुन । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवाग्राहीलाई सहजताका लागि प्रवेशद्वार थप गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगरपालिका–९ वडा कमिटीले सोमबार अनुरोधपत्र बुझाएको छ । अस्पतालको पश्चिमतर्फ कालिका पथसँग जोडिएको ठाउँबाट प्रवेशद्वार थप गर्न माग गरिएको हो । 

    अस्पतालको पूर्वतर्फ मुख्य राजमार्गसँग जोडिएका दुईवटा गेटले मात्रै सेवा प्रदान गर्दा भिड व्यवस्थापनमा समेत समस्या हुने देखिएकाले पश्चिमतर्फ पनि प्रवेशद्वार बनाई सहज बनाउन माग गरिएको एमाले वडा कमिटी अध्यक्ष शेषकान्त बेलबासेले बताए । 

    अनुरोधपत्र बुझ्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सुझाव मननयोग्य रहेकाले आवश्यक अध्ययन गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । अस्पतालको निर्माणाधिन भवन निर्माण तथा यसको डीपीआरमा समेत पश्चिमतर्फ गेट निर्माण गर्ने उल्लेख गरिएको भए पनि प्रयाप्त ठाउँ नहुँदा अहिले नै उक्त व्यवस्था नगरिएको बताए । उनले आवश्यक अध्ययन गरी द्वार निर्माण गरिने प्रतिवद्धता गरे । 

    अध्यक्ष श्रेष्ठले अस्पतालका सबै सकारात्मक कामहरुको बारेमा सबै जनतालाई जानकारी दिन र सुधार गर्नुपर्ने विषयहरु अस्पताल समितिमा आएर सुझाव दिएमा आवश्यक सुधारका लागि आफू सधै तयार रहने उल्लेख गरे । अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. ईन्द्र ढकालले प्राप्त सुझाव अनुसार सुधारका लागि तयार रहेको बताउँदै प्रवेशद्वार निर्माण गर्ने सवालमा छिट्टै प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता गरे ।   

    सुझाव प्रस्तुत गर्दै एमाले लुम्बिाी प्रदेश कमिटी सदस्य माधव नेपालले प्रादेशिक अस्पतालले स्वास्थ्य उपचार तथा जिस्तारमा उल्लेखनीय उपलब्धि हासिल गर्दै गएको बताए । उनले प्रवेशद्वार थप गरी सेवालाई अझ बढी सहज बनाउन सकिने उल्लेख गरे । 

    त्यसै गरी एमाले प्रदेश कमिटी सदस्य विमला श्रेष्ठ, रुपन्देही जिल्ला उपसचिव बाबुराम पन्थी, क्षेत्रीय कमिटी सदस्य ऋषि पाण्डे, बुटवल नगर अध्यक्ष शोभाखर पोखरेल तथा वडा नम्बर ९ का कमिटी अध्यक्ष शेषकान्त बेलबासेले भिड व्यवस्थापन र सेवा सहज बनाउन प्रवेशद्वार थप गर्न आवश्यक रहेको बताए ।