२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

दिगो शान्ति, सुशासन, विकास र समृद्धि सरकारको प्राथमिकता : गृहमन्त्री लेखक

मंगलवार , फाल्गुण २०, २०८१

भैरहवा, २० फागुन । गृहमन्त्री रमेश लेखकले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि वर्तमान सरकारको प्राथमिकता भएको बताएका छन् । उनले यो सरकार बनेको ८ महिना हुने लागेको र सरकारको प्राथमिकता भनेको मुलुकमा भ्रष्टाचार समाप्त गर्ने र सुशासन कायम गर्ने रहेको बताएका हुन् ।

अध्यागमन कार्यालय बेलहिया, भैरहवाको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै गृहमन्त्री लेखकले सेवा प्रवाहलाई सरल गर्ने, नागरिकलाई सहज, सरल रुपले सेवा प्रदान गर्ने र देशमा लगानीमैत्री वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताए । ‘देशभित्रै व्यवसायमैत्री वातावरण बनाउने र समग्रतामा भन्नुपर्दा आर्थिक विकास र उन्नतिलाई अगाडि बढाउने हाम्रा प्राथमिकता हुन्’उनले भने–‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने, बलियो पार्ने र संविधानको रक्षा गर्ने यो सरकारको लक्ष्य हो । यिनै विषयहरुलाई प्राप्त गर्न कामहरु अघि बढेको उनको भनाइ छ ।

गृहमन्त्री लेखकले बेलहिया देशको प्रमुख अन्तर्राष्ट्रिय नाकाको रुपमा स्थापित भइरहेको बताए । ‘अन्तर्राष्ट्रिय आवातजावतको नाकालाई थप व्यवस्थित गर्नका लागि निर्मित भवनको उद्घाटन गरेका छौं’उनले भने–‘यो भवनबाट सेवा त केही समय पहिला नै सुचारु भइसकेको थियो, अब सेवालाई थप व्यवस्थित र राम्रो बनाउनका लागि अगाडि बढ्छौं, आज त्यसको प्रारम्भ गरेका छौं ।’

संसारभर शान्तिको सन्देश फैलाउने गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा विदेशीहरुले अत्यन्त ज्यादा भ्रमण गर्ने इच्छा राख्दै आएको उनको भनाइ छ । ‘यो बुद्धभूमि भएकोले यो ठाउँमा धार्मिक पर्यटनको सम्भावना धेरै छ’गृहमन्त्री लेखकले भने–‘आवातजावतलाई व्यवस्थित बनाएर बढी पर्यटक भित्रयाउँछौ, यसले आर्थिक समृद्धिमा टेवा पुग्छ ।’ उनले अध्यागमन कार्यालय देशको ऐना भएको बताए । उनले सेवाग्राहीलाई विनम्रतापूर्वक सेवा प्रदान गर्न प्रहरी र कर्मचारीहरुलाई निर्देशन दिए । उनले अर्थतन्त्रमा केही सकारात्मक सुधारहरु देखिएको दावी गरे । 

IMG_4834.JPG

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले लुम्बिनीको विकासले समग्र मुलुकको विकास हुने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट (भैरहवा–नयाँ दिल्ली) उडान समेत सुरु गर्नुपर्नेमा जोड दिए । मेयर खाँले बेलहिया नाकालाई अझ व्यवस्थित बनाइने बताए ।

अध्यागमन विभागका महानिर्देशक गोबिन्दप्रसाद रिजालले पूर्वाधार विकास सेवा प्रवाहसँग प्रत्यक्ष जोडिने बताए । उनले विभिन्न मातहतका कार्यालयका पूर्वाधारको विकासले सेवा प्रवाहलाई सहज र राम्रो बनाउने बताए । ‘त्यो सन्दर्भमा नयाँ कार्यालय, जनशक्ति र भवन निर्माण भइरहेका छन् । त्यसैको सिलसिलामा यो कार्यालय बनेको हो । यद्यपि कार्तिक १ गतेदेखि नै यहाँबाट सेवा प्रवाह सुरुवात भएको थियो, ’उनले भने ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अब नवनिर्मित अध्यागमन कार्यालयको भनबाट अध्यागमनको सेवा अझ व्यवस्थित, भरपर्दो र सुविधाजनक हुने विश्वास व्यक्त गरे । ‘यहाँ आउने आगन्तुकलाई अझ प्रभावकारी ढंगले सेवा प्रवाह गर्न सक्षम हुनेछौं, यो एउटा हाम्रो महत्वपूर्ण उपलब्धी हो, ’उनले भने ।

विभागका निर्देशक टीकाराम ढकालले अध्यागमन कार्यालय बेलहिया नाका हुँदै भारत प्रस्थान गर्ने र नेपाल प्रवेश गर्ने व्यक्तिहरुको संख्या बढ्दै गएको बताए । उनले १० करोड २५ लाख रुपैयाँ (भ्याटसहित) को लागतमा भवन निर्माण भएको जानकारी दिए ।

IMG_4814.JPG