२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

अनुशासित र यथार्थपरक बजेट बन्छ : अर्थमन्त्री पौडेल

बुधवार , फाल्गुण २१, २०८१

  • 670
    Shares
  • 670
    Shares
  • काठमाडौं, २१ फागुन । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा बुधबार अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । 

    सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताएका छन् ।  यर्थाथपरक बजेट आउँदा बीचबीचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्रीको भनाइ छ । 

    अर्थमन्त्री पौडेलले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा व्यक्त गरेका छन् । उनले संघ, प्रदेश र स्थानीय सरकार रहेकाले संघीयता र संघ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिएका छन् । मन्त्रालयहरु र विभिन्न निकायबीचको समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सबैले अपनत्व लिने अर्थमन्त्रीको विश्वास छ ।    

    विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता मिलाएर आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन् ।

    अर्थमन्त्री पौडेलले कार्यान्वयन हुन नसक्ने र कम प्राथमिकताका आयोजनाहरुलाई स्थगन गर्दै कार्यान्वयनयोग्य योजनाहरु मात्र समावेश गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका छन् । त्यसै गरी साना योजनाहरुलाई रोकी क्रमागत योजनाहरुको संख्या घटाउन पनि सुझाव दिएका छन्  । पूर्वतयारी सम्पन्न भएका र अत्यन्तै आवश्यकता महसुस गरिएका आयोजनाहरु मात्र समावेश गर्नुपर्ने अर्थमन्त्रीको भनाइ छ । उनले बजेटको सिलिङलाई ध्यानमा राखेर कार्यक्रमहरु प्रस्ताव गर्न पनि सुझाव दिएका छन् ।

    छलफलमा भौतिक भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेश कुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा लगायत सहभागी थिए ।