२०८२, कार्तिक १६ गते

Nov 02 2025 | २०८२, कार्तिक १६ गते

उद्योगी–व्यवसायी भन्छन् : विज्ञापन करका नाममा रकम असुली गर्ने ठेक्का खारेज गर्नुपर्छ

बिहिवार , फाल्गुण २२, २०८१

  • 808
    Shares
  • 808
    Shares
  • बुटवल, २२ फागुन । बुटवलका व्यवसायिक संस्थाहरुले बुटवल उपमहानगरपालिकाले ठेक्का लगाएको विज्ञापन कर कानूनी रुपमा त्रुटीपूर्ण, अव्यवहारिक र अवैज्ञानिक रहेकाले खारेज गर्न माग गरेका छन् । उक्त ठेक्का तत्काल खारेज नगरे उद्योगी–व्यवसायी उठाएर कडा आन्दोलन गर्ने चेतावनी दिदै उनीहरुले गैरकानूनी रुपमा उठाइएको कर नतिर्न आग्रह गरेका छन् ।

    बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघ बुटवलले संयुक्त पत्रकार भेटघाट कार्यक्रम गरी आफूहरुलाई उपमहानगरले झुक्याएर निर्णयमा हस्ताक्षर गराएको भन्दै उक्त निर्णय नसच्याएसम्म राजस्व परामर्श समितिको बैठकमा सहभागी नहुने घोषणा गरेका छन् । उनीहरुले बैठकमा उपस्थितिमा मात्रै हस्ताक्षर गरेको तर, निर्णयमा हस्ताक्षर गरेको भन्दै भ्रमपूर्ण प्रचार गरिएकोप्रति विरोध समेत जनाएका छन् ।

    उद्योग तथा व्यवसायिक प्रतिष्ठानको चिनारीका लागि राखिएका सूचना बोर्ड, संकेत बोर्ड, परिचय पाटी लगायतको विज्ञापन कर असुल गर्न ठेक्का दिएर रकम उठाउने प्रक्रियाले जटिल परिस्थिति सिर्जना गरेकाले त्यसको समेत विरोध गरेका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले व्यवसायिक प्रतिष्ठानहरुमा गरिएको असभ्य र ज्यादतीपूर्ण व्यवहार तथा साईन बोर्डहरुमा गरिएको तोडफोडको उचित क्षतिपूर्तिको समेत माग गरे ।

    रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारी र उद्योग व्यापार संगठन बुटवलका अध्यक्ष विष्णु प्रसाद पाण्डेले आर्थिक मन्दीले व्यवसायमा देखा परेका समस्याहरुलाई समाधान गर्नुको साटो थप मारमा पर्ने गरी विज्ञापन करको दायरा उल्लेख गरी जबरजस्ती असुल गर्नु व्यवहारिक नहुने बताए । 

    राजस्व परामर्श समितिका सदस्य तथा उद्योग वाणिज्य संघका उपाध्यक्ष बिमल भट्टराईले सामान्यतया ३० वर्ग फिटका २ वटा बोर्डमा कर नलाग्ने कुरा राजस्व परामर्श समितिमा सहमति भएको उल्लेख गर्दै ठेकेदार कम्पनीले उद्योगी–व्यवसायीहरुलाई यो सुविधा प्रदान नगरेको भन्दै खेद व्यक्त गरे ।

    उपमहानगरपालिकाले ठेक्कामार्फत विज्ञापन कर उठाउने जिम्मेवारी दिएको गणेश एण्ड सन्स कन्ट्रक्सनबाट विभिन्न व्यवसायिक प्रतिष्ठानहरुमा पुगेर अशिष्ट व्यवहार गर्नुका साथै तोडफोड समेत गरिएको भन्दै उक्त ज्यादतीपूर्ण व्यवहारप्रति खेद व्यक्त गरिएको छ ।