२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

संघीय महत्वका आयोजनाहरुमा केन्द्रित हुन अर्थमन्त्री पौडेलको आग्रह

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं, २२ फागुन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनाहरुमा केन्द्रित हुन आग्रह गरेका हुन् । उनले संघीयतामा प्रदेश र स्थानीय तहले गर्ने काम संघले गर्न जरुरी नरहेको बताए ।

अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ्दा मात्र संघीयताको अभ्यास बलियो हुने बताए । उनले तयारीमा रहेका आयोजनाहरुको कार्यान्वयन र आगामी दिनमा आवश्यक पर्ने महत्वपूर्ण आयोजनाहरुको तयारीमा ध्यान पुर्याउन पनि अनुरोध गरे । अर्थमन्त्री पौडेलले विकासलाई नीतिमार्फत पनि सम्बोधन गर्न जरुरी रहेकोमा जोड दिदै नीतिले थप क्षेत्रहरु खुल्ला गर्ने धारणा व्यक्त गरे ।

अहिलेको संसदबाट यो भन्दा बलियो सरकार बन्ने सम्भावना नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेले सबैभन्दा बलियो सरकार भएका सबै पक्षसँग परामर्श गरी देशको आवश्यकता र जनताको चाहनाअनुसार नयाँ बजेट बनाउने बताए । शहरी विकास मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव र विभागीय प्रमुखहरुको सहभागीता थियो ।

त्यस्तै उर्जा मन्त्रालयसँगको छलफलमा उर्जामन्त्री दीपक खड्का, सचिव, विभागीय प्रमुख लगायतको सहभागीता थियो ।