२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिदै

बिहिवार , फाल्गुण २२, २०८१

लुम्बिनी, २२ फागुन । बुद्ध जन्मस्थल लुम्बिनीमा यही शनिबार राती ४ हजार दीप प्रज्वलन गरिने भएको छ । पाँच सयजनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राती लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो । 

धम्मकाय फाउण्डेशनले भिक्षुभिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँचसय जना कुलपुत्रहरुको सहभागीतामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखेको हो । धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए । उनले गत वर्ष पनि दीप प्रज्वलन गरिएको बताउँदै आगामी वर्ष यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना रहेको सुनाए । उनले दीप प्रज्वलनमा भिक्षुभिक्षुणी, लामा, आनी, उपासक उपासिकासहित विभिन्न देशबाट आएका पाहुनाहरुको सहभागिता रहने बताए । 

दीप प्रज्वलनमा सरकारका अधिकारीहरुको समेत उपस्थिति रहनेछ । बौद्धमार्गीहरुमा दीप प्रज्वलनको निकै महत्व रहेकाले दीप प्रज्वलनले सकरात्मक सन्देश जाने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताए । उनले बुद्ध शिक्षालाई प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।

धम्मकायले दीप प्रज्वलनसँगै धम्मयात्राका लागि समेत शिेष तयारी गरेको छ । अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपाल सह–आयोजनामा आगामी चैत २ गते शनिबार भैरहवामा बुद्धको अस्तीधातुसहितको धम्म यात्रा गर्ने हुने भएको हो । धम्म यात्रामा लुम्बिनीमा भइरहेको पाँच सयजना प्रवजित अल्पकालीन भिक्षुहरु, भन्तेहरु सहभागी हुनेछन् । भैरहवाको रंगशालादेखि बुद्धचौक (लुम्बिनीगेट) सम्म धम्मयात्रा हुनेछ ।

त्यस्तै सोही दिन विहान देवदह, बुटवल, रामग्राममा पनि धम्मयात्रा हुनेछ । चैत ३ गते प्रमाणपत्र वितरण, चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन् । लुम्बिनीमा अहिले पाँचसय जनाको प्रवज्या र चौथौ अन्तर्राष्ट्रिय त्रिपिटक वाचन भइरहेको छ । मायादेवी मन्दिर परिसरमा २० गते  ५ सय जनालाई चिवर प्रदान गरी प्रवजित गराइएको हो भने बुधबार मात्रै त्रिपिटक पाठ समारोहको शुभारम्भ गरिएको हो ।