
शुक्रवार , फाल्गुण २३, २०८१
भैरहवा, २३ फागुन । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले निजी क्षेत्रसँग साझेदारी गरेर अर्थतन्त्र बलियो बनाउने यो सरकारको पहिलो लक्ष्य भएको बताएका छन् । उनले सुशासन कायम र समृद्धि प्राप्त गर्ने लक्ष्य रहेको र त्यही लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै मन्त्री खड्काले सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको बताए । ‘दुईवटा ठूला मजबुत पार्टी जसको बलियो जनाधर छ, संघर्षबाट स्थापित पार्टीहरु हुन् । उनले भने–‘ती पार्टीहरु मिलेर र अरु पार्टीलाई साथमा लिएर गणतन्त्रको जर्गेना गर्ने, समृद्धि प्राप्ती गर्ने र मुलुकको आर्थिक स्थिति मजबुत बनाउनका लागि सरकार निर्माण गर्नुपर्यो नभए सामान्यतया पहिलो र दोस्रो पार्टी मिलेर सरकार बन्दैन भन्ने हामी सबैलाई थाहा छ ।’
मन्त्री खड्काले दुई पार्टीका नेताहरुले गम्भिर रुपमा सोचेर सधै अस्थिरता र अशान्ति नभइ मिलेर मुलुकको प्रगति गर्नुपर्छ भनेर अगाडि बढेको बताए । उनले तीनै तहका सरकारले निजी क्षेत्रको साथ र सहयोग लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
मन्त्री खड्काले भने–‘उपयोग नगरेको विद्युतको महसुल मात्रै होइन, हर्जाना समेत तिर्नुपर्छ भनेर बील पठाइएको छ । यो छानबीन गरौं न भन्दा विद्युत प्राधिकरण मान्दैन गजबको कुरा छ । मकहाँ आए अनुसार यहाँको २२ वटा उद्योग समस्यामा परिरहनुभएको छ । लाईन काटिएको अवस्था छ । पछि जोडिएको छ । ठीक छ प्रयोग गरेको जति इमान्दारीताका साथ तिर्नुपर्छ, तिराउनुपर्छ । तर, प्रयोग गरेको कति हो थाहा नपाउने ? सरकारले अन्यायपूर्ण कार्य हुन नदिने उनले दावी गरे ।
मन्त्री खड्काले अहिले भारत र बंगलादेशलाई विक्री गरिएको विद्युत वर्षायाममा बढी उत्पादन भएको विद्युत भएको बताए । उनले हिउँदमा झण्डै १ हजार मेगावट भन्दा बढी विद्युत खरिद गरिएको बताए । सरकारले १० वर्षमा साढे १३ हजार मेगावट विद्युत आन्तरिक खपत गर्ने लक्ष्य लिएको उनले बताए । मन्त्री खड्काले १० वर्षभत्र २८ हजार मेगावट बढी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताए ।उनले आयात भइरहेको कुरालाई निर्यातमा परिणत गरेर मुलुकलाई समृद्ध बनाउने लक्ष्य रहेको स्पष्ट पारे ।
त्यस्तै संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले सवारीसाधन विद्युतबाट मात्रै चल्ने गरी सरकारले योजना बनाउनुपर्ने बताए । उनले उद्योग–व्यवसायलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।
पूर्व गृहमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्नेमा जोड दिए । उनले उद्योगी–व्यवसायी मर्कामा परेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बजार चलायमान बनाउने परिस्थिति निर्माण गर्नुपर्ने बताए । उनले ट्रकलाईन र डेडिकेटेड लाइन सम्बन्धी समयको समाधान गर्नुपर्ने माग गरे ।
उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले अहिलेको समयमा उद्योगी–व्यवसायीको मनोबल घटेको बताए । उनले उद्योगी–व्यवसाय पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले चोरी तस्करी नियन्त्रणका लागि कडाइ आवश्यक रहेको बताए । उनले चोरी तस्करीले वैध व्यापार समस्यामा परेको गुनासो गरे ।
संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले संस्थालाई अगाडि बढाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij