
शनिवार , फाल्गुण २४, २०८१
भैरहवा, २४ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन–२०८१ मा वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार हरि बहादुर थापाले संघको गरिमा बढाउन र निराश व्यवसायीको पुनरुत्थानका लागि आफू नेतृत्वमा जान लागेको बताएका छन् ।
शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी उनले आफु कुनै दल, आस्था वा विचारबाट प्रेरित नभइ व्यवसायिक हकहित र अधिकारका निम्ति अघि बढेको दावी गरे । शिक्षा, पर्यटन, अटोमोबाइल्स, र खेलकुद क्षेत्रमा क्रियाशील युवा व्यवसायी थापा संघको कार्यसमिति सदस्यको दुईवर्षे अनुभवपछि अघिल्लो निर्वाचनमा पनि उद्योग उपाध्यक्ष पदको उम्मेदवार थिए ।
११ मतान्तरले पराजित थापा यसपटक वाणिज्य उपाध्यक्षमा विजयी हुनेमा ढुक्क छन् । ‘मतदाताको कुरा सुन्दा मैले जित्नुपर्छ भन्ने धेरैको सोच रहेको पाए, ’उनले भने । थापाका प्रतिष्पर्धीमा व्यवसायीहरु दीपक कुमार पौडेल र यमकला न्यौपाने छन् ।
आफ्नो उम्मेदवारीप्रति उद्योगी–व्यवसायीहरुको समर्थन र हौसलाले उत्साहित भएको भन्दै थापाले संघको गरिमा बचाउन, उद्योगी–व्यवसायीहरुका समस्या समाधान गर्न र व्यवसायिक वातावरण सिर्जना गर्न आफूलाई मतदान गर्न व्यवसायीहरुलाई आग्रह गरे । २९ देशहरुको भ्रमण गरेका थापाले देश–विदेशबाट प्राप्त अनुभव समेत सिद्धार्थ उद्योग वाणिज्य संघको गरिमा बढाउन उपयोग गर्ने बताए । उनले संघ व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताए ।
‘सिद्धार्थ उद्योग वाणिज्य संघ अब्बल र पुरानो संस्था हो । उद्योगी–व्यवसायीको हकहितसँगै संघले यस क्षेत्रको विकासका लागि पनि पहलकदमी लिदै आएको छ । वर्तमान कार्यसमितिले राम्रो काम गरेको छ । पूर्वअध्यक्षहरुको योगदान महत्वपूर्ण छ, ’उनले भने ।
थापाले व्यवसायीको व्यवसाय मात्र दायित्व नभइ ग्राहकलाई कस्तो सुविधा दिइरहेका छौं भन्ने कुरा महत्वपूर्ण रहेको बताए । आर्थिक गतिविधि चलायनमान बनाउनुपर्नेमा उनले जोड दिए । थापा रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन अन्तर्गत शनिबार (आज) निर्वाचन हुँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij