२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकार सबै पेशाकर्मीलाई प्रोत्साहित गर्दै अघि बढ्छ : मुख्यमन्त्री आचार्य

शनिवार , फाल्गुण २४, २०८१

दाङ, २४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध भएको स्पष्ट पारेका हुन् । 

प्रदेश सरकारले ऐन, नीति, नियममार्फत कर्मचारीको वृत्ति विकासको ढोका खोलेको उल्लेख गर्दै सरकार कुनै पनि पेशाकर्मीलाई निरुत्साहित नगर्ने, बरु प्रोत्साहित गर्दै अघि बढ्ने उनले बताए । ‘प्रदेश सरकारले कुनै पनि पेशाकर्मीलाई निरुत्साहित गर्दैन, प्रोत्साहित गरेर सेवामा समर्पित हुने वातावरण निर्माण गरेको छ’मुख्यमन्त्री आचार्यले भने–‘प्रदेश सरकारले निजामती सेवा ऐन र स्थानीय सेवा ऐन कार्यान्वयन गर्न नियमावली बनाउने कामलाई अन्तिम चरणमा पुर्याएको छ । यसमा कर्मचारीको भावना समेटिन्छ ।’

उनले सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । त्यस्तै उनले नेतृत्वमा पुगेका व्यक्तिहरूले आफ्नो मूलभूत जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै संगठनका नेता तथा कार्यकर्ताहरू पारदर्शिता र उत्कृष्टताको उदाहरण बन्नुपर्ने बताए । उनले नेता तथा कार्यकर्ताहरूको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको विषय स्वीकार्य हुन नसक्ने बताउँदै वैचारिक रूपमा स्पष्ट रहन आवश्यक रहेको उल्लेख गरे । सानातिना घटनाक्रमले विचलित हुन नहुने बताउँदै विचारमा दृढता आवश्यक रहेको उनले बताए ।

स्थानीय सेवा ऐन कार्यान्वयनका लागि नियमावली तयार पार्ने कार्य भइरहेको जानकारी गराउँदै ऐनमा नमिलेका विषयहरू नियमावलीमार्फत समेटिने उल्लेख गरे । उनले ट्रेड युनियन प्रतिनिधिहरूसँग छलफल भइरहेको बताउँदै नियमावली भावना भन्दा बाहिर नजाने, बरु कर्मचारीको मनोबल उच्च बनाउन र व्यवसायिक विकासलाई अघि बढाउन टेवा पुग्ने गरी तयार गरिने बताए ।  प्रदेश सरकार स्वास्थ्यकर्मीहरूको हकहित तथा वृत्ति विकासका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उद्घाटन कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीका अध्यक्ष चिन्तामणी ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।