२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पुष्प सहकारीद्वारा ‘डेरी पसल’ सञ्चालन

शनिवार , फाल्गुण २४, २०८१

बुटवल, २४ फागुन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ दीपनगरस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले ‘डेरी पसल’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी विशिष्टिकृत सहकारी संघले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थ विक्रीवितरणका लागि डेरी सञ्चालन गरिएको हो । 

शुक्रबार एक कार्यक्रमको आयोजना गरी जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ नेपालका लेखा सुपरीवेक्षण समिति संयोजक भिम तुलाचनले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले निर्मलीकरण गरिएको दुध मानव स्वास्थ्यका लागि स्वस्थकर हुने बताए । 

लुम्बिनी विशिष्टिकृत सहकारी संघले उत्पादन र विक्रीवितरण गर्ने दुध तथा दुग्धजन्य सामग्रीहरु गुणस्तरीय रहेकोले ढुक्क भएर प्रयोग गर्न उपभोक्तालाई आग्रह गरे । लुम्बिनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष ज्ञानु पौड्यालले डेरी व्यवसाय प्रवद्र्धनका लागि उच्च प्रविधिमार्फत डेरी उद्योग सञ्चालन गरी दुध र दुग्धजन्य सामग्रीहरु उत्पादन तथा विक्रीवितरण गर्दै आएको बताइन् । उद्योग सञ्चालनमा आएको छोटो समयमै साढे ४ लाख लिटर दुध संकलन भइसकेको बताउँदै उनले पशुपालक किसानलाई समेत सहज भएको बताइन् । 

संकलन भएको सबै दुध तत्काल विक्री नहुने भएकोले पाउडर प्लान्ट स्थापना गर्ने तयारी गरीएको अध्यक्ष पौडेलले बताइन् । उनका अनुसार हाल संघमा १४५ वटा सहकारी संस्था सदस्य रहेका छन् । संघले ‘मिल्क एटीएम’ सञ्चालनमा ल्याउने तयारी गरेको उनले बताइन् ।

पुष्प बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामप्रसाद पाण्डेले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी सदस्यहरुलाई आर्थिक समृद्धिसँग जोड्ने काम गर्दै आएको बताए । दुध, दही, घ्यु, मोही, पनिर, नौनी लगायतका दुध र दुधबाट बनेका सबै किसिमका गुणस्तरीय उत्पादनहरु पाइने उनले बताए । सहकारीका शेयर सदस्यसमेत रहेकी डेरी सञ्चालक कल्पना घिमिरेले सहकारीबाटै व्यवसायमा जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । 

कार्यक्रममा सहकारीका सल्लाहकार उमाकान्त बस्याल, लुम्बिनी विशिष्टिकृत सहकारी संघका महाप्रबन्धक अर्जुन अधिकारी लगायतले बोल्दै अन्य सहकारी संस्थाहरुले पनि सदस्यहरुलाई व्यवसायिक र आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । 

पुष्प सहकारी लुम्बिनी विशिष्टिकृत सहकारी संघको सदस्य पनि हो । २०५७ सालमा स्थापना भएको सहकारीमा हाल ९३० जना शेयर सदस्य तथा १५ करोड शेयर पूँजी रहेको व्यवस्थापक सरस्वती पाण्डे न्यौपानेले जानकारी दिइन । कार्यक्रमको सञ्चालन सहकारीका सचिव कल्पना थापाले गरेकी थिइन् ।