२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लैंगिक सचेतना तथा स्वयंसेवक विस्तार र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

आइतवार , फाल्गुण २५, २०८१

भैरहवा, २५ फागुन । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा, सिद्धार्थनगरको आयोजनामा लैंगिक सचेतना तथा स्वयंसेवक विस्तार र व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कार्यक्रम गरिएको रेडक्रस रुपन्देही शाखाका सभापति राम चन्द्र उपाध्यायले बताए । कार्यक्रममा ४० जना बढीको सहभागीता रहेको उपाध्यायले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.) ले महिलामाथि हुने सबैप्रकारका हिंसाविरुद्ध एकजुट भइ अगाडि बढ्नुपर्ने बताइन् । उनले आगामी दिनमा ग्रामीण भेगका महिलालाई लक्षित गरेर यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । ‘विपद्को समयमा जनधनको क्षति नहोस् भन्ने उद्देश्यका साथ रेडक्रसले अग्रपंक्तिमा रहेर काम गर्दै आएको छ, ’उनले भनिन् । उनले महिला सशक्तिकरणमा जोड दिनुपर्ने बताइन् । ‘महिला भएर जन्मिएकै कारण धेरै चुनौती छन् । महिला आफूले आफैलाई विश्वास गर्नुपर्छ । आफ्नो क्षमताको पहिचान गर्नुपर्छ, ’सांसद् के.सी.ले भनिन् ।

IMG_5238.JPG

त्यस्तै रेडक्रस सोसाइटी रुपन्देहीका निवर्तमान सभापति दीपक क्षेत्री न्यौपानेले पछिल्लो समय विभिन्न क्षेत्रमा महिलाको सहभागीता बढ्दै गएको बताए । ‘अवसर पाए महिला पुरुष भन्दा कम छैनन्, महिलाले सीप विकासमा ध्यान दिनुपर्छ, ’उनले भने ।

लुम्बिनी विशिष्टीकृत सहकारी संघकी अध्यक्ष तथा नमुना एकीकृत विकास परिषद् रुपन्देहीकी संस्थापक अध्यक्ष ज्ञानु पौड्यालले निर्णायक तहमा महिलाको सहभागीता कति छ भन्ने कुरा महत्वपूर्ण रहेको बताइन् । उनले पछिल्लो समय आत्महत्याको घटना बढेकोप्रति चिन्ता व्यक्त गर्दै अब मानसिक स्वास्थ्यलाई ध्यान दिदै मनोसामाजिक विमर्श आवश्यक रहेको बताइन् ।

रेडक्रस रुपन्देही शाखाका सभापति राम चन्द्र उपाध्यायको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.) को प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक एवं रेडक्रस रुपन्देही शाखा उपसभापति रुपमा कुमारी हिराचनको स्वागत तथा मन्त्री टेक बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अभिमुखीकरण कार्यक्रमको रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश कार्यालय बुटवलका वरिष्ठ अधिकृत शंकर भट्टराई र हरैया बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा रेडक्रस सोसाइटी कञ्चन उपशाखाकी संस्थापक सभापति लिला कुमारी पौडेलले सहजीकरण गर्नुभएको रेडक्रस रुपन्देहीका कार्यसमिति सदस्य केशव उपाध्यायले बताए ।