
आइतवार , फाल्गुण २५, २०८१
भैरहवा, २५ फागुन । रुपन्देहीको ओमसतिया गाउँपालिकाको हिउँदे अधिवेशन (१६ औं गाउँ अधिवेशन) आइतबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा योजनाहरु परिमार्जन गर्दै अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको पालिकाले जनाएको छ ।
अधिवेशनमा आर्थिक चालु आर्थिक वर्षको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पालिकाकी उपाध्यक्ष सुनिता चौधरीले चालु आर्थिक वर्षमा गाउँपालिकाको चालु खर्च शिर्षकमा ३२ करोड ४२ लाख ८५ हजार रुपैयाँ विनियोजन भएकोमा २०८१ माघ मसान्तसम्म १४ करोड १ लाख ९५ हजार रुपैयाँ अर्थात ४३.२३ प्रतिशत खर्च भएको बताइन् ।
त्यसै गरी पूँजीगत खर्च शिर्षकमा १७ करोड ३३ हजार विनियोजन भएकोमा ४ करोड ६४ लाख ८७ हजार रुपैयाँ अर्थात २७.३४ प्रतिशत खर्च भएको छ । पालिकाका कुल खर्च १८ करोड ६६ लाख ८२ हजार रुपैयाँ अर्थात ३७.७६ प्रतिशत भएको उनले बताइन् ।
आर्थिक वर्षको माघ मसान्तसम्मको संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदानतर्फ १२ करोड १५ लाख अनुमान गरेकोमा ६ करोड ७ लाख ५० हजार अर्थात ५० प्रतिशत मात्र, विशेष अनुदानतर्फ १ करोड रुपैयाँ अनुमान गरेकोमा २४ लाख ३७ हजार रुपैयाँ र सशर्त आयोजना तथा कार्यक्रम कार्यान्वयनको लागि १७ करोड ४० लाख ४२ हजार रुपैयाँ अनुमान गरेकोमा १० करोड ९४ लाख ५४ हजार प्राप्त भएको चौधरीले बताइन् ।
त्यस्तै प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ ८३ लाख ३५ हजार अनुमान गरेकोमा ४१ लाख ६७ हजार ५ सय रुपैयाँ, सशर्त अनुदानतर्फ ९० लाख अनुमान गरेकोमा २९ लाख ७० हजार रुपैयाँ र समपुरक अनुदानतर्फ ७० लाख अनुमान गरेकोमा २३ लाख १० हजार मात्र प्राप्त भएको छ ।
श्रोत बाँडफाँडबाट प्राप्त राजस्व अन्तर्गत संघीय सरकारवाट ९ करोड ९ लाख अनुमान गरेकोमा ४ करोड २९ लाख ८१ हजार रुपैयाँ, प्रदेश सरकारबाट ३५ लाख ४१ हजार अनुमान गरेकोमा २६ लाख ३६ हजार र मालपोत बाँडफाँडबाट १ करोड ५० लाख अनुमान गरेकोमा १ करोड १९ लाख ६५ हजार प्राप्त भएको उनले बताइन् । अनुमान गरेको भन्दा कम परिणाममा रकम प्राप्त भएको हुँदा हिउँदे अधिवेशनबाट केही योजनाहरु संशोधन गरिएको र यो सर्वसम्मत रुपमा पारित भएको उनले बताइन् ।
ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) को अध्यक्षतामा सम्पन्न अधिवेशनलाई सभाका सचिव कृष्ण प्रसाद पन्थी र अधिकृत रुपा राउतले सञ्चालन गरेका थिए । सभामा पालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष मदन पोखरेलको स्वागत मन्तव्य राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij