
सोमवार , फाल्गुण २६, २०८१
भैरहवा, २६ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सह–कोषाध्यक्षमा पहिलोपटक महिलाले नेतृत्व गर्ने मौका मिलेको छ । संघको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट सह–कोषाध्यक्षमा पल्लवी न्यौपानेले नेतृत्व गर्ने मौका पाएकी हुन् ।
सह–कोषाध्यक्षका लागि न्यौपाने र संजय कुमार बेरिवालवीच प्रतिष्पर्धा भएको थियो । २ हजार १ सय १२ मतदाता रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका १ हजार ६ सय ७० मत खसको थियो । चुनावी प्रतिष्पर्धामा न्यौपानेले ९४४ मत प्राप्त गरेकी छन् भने उनका निकटतम् प्रतिष्पर्धी बेरिवालले ६८३ मत प्राप्त गरेका छन् ।
न्यौपानेले यसअघि लगातार ४ कार्यकाल कार्यसमिति सदस्य पदमा बसेर काम गर्दै आएकी थिइन् । अधिवेशनमा वाणिज्य उपाध्यक्ष, सह–कोषाध्यक्ष र १६ सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । यसअघि सह–कोषाध्यक्षमा बेरिवालले जिम्मेवारी बहन गरेका थिए ।
अघिल्लो कार्यकालमा न्यौपानेले पनि सह–कोषाध्यक्षमा दावी गरेकी थिईन । न्यौपानेले बेरिवाललाई समर्थन गरेपछि बेरिवाल निर्विरोध भएका थिए । अहिले बेरिवालले न्यौपानेलाई सर्मथन नगरेपछि निर्वाचन भएको थियो।
संघको ६५ औं साधारण सभाबाट विधान संशोधन भएपछि सह–कोषाध्यक्षको पद सिर्जना गरिएको थियो । न्यौपानेसँगै संघमा कार्यसमिति सदस्य पदमा रचना क्षेत्री, विष्णुमाया शर्मा, मीना पन्थी, पुजा आचार्य निर्वाचित भएका छन् । २९ सदस्यीय कार्यसमितिमा ५ जना महिला मात्र निर्वाचित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij