२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सामान्य विवादमा हत्या, चार जना पक्राउ

शुक्रवार , चैत्र ६, २०७७

भैरहवा, ६ चैत । 
२०७७ चैत ५ गते बेलुकी साढे ५ बजे रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ पर्सौनीस्थित परासी–भैरहवा सडकदेखि उत्तरतर्फ शिव्वन यादवको गहुँको खेतमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला पर्यो । शव फेला परेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलसहितको प्रहरी टोली उक्त स्थानमा पुग्यो । नामथर र वतन नखुलेको अवस्थामा अनुहारमा किरा परी अनुहार नदेखिने अवस्थामा थियो । प्रहरीका अनुसार शरीरमा रहेका किराहरु हटाइ हेर्दा अनुहार घामले डढेको जस्तो कालो भइ प्रष्ट नचिनिने अवस्थामा रहेको थियो । त्यस्तै उक्त शरीरको सम्पूर्ण भागको बाहिरी छाला गलेर फोका उठी दुर्गन्धित अवस्थामा थियो ।

त्यसपश्चात प्रहरीले घटनाको अनुसन्धान थाल्यो । भीम अस्पतालको शव गृहमा राखिएको शव देखाउँदा सिद्धार्थनगर नगरपालिका–९ की ३६ वर्षिय शिला कोइरीले उक्त शव आफ्नो श्रीमान् घनश्याम कोहरीको भनी सनाखत गरिन । प्रारिम्भक अनुसन्धान पश्चात शवको सनाखत भएपछि प्रहरीलाई घनश्यामकी पत्नी शिलाले आफ्नो श्रीमान्माथि कुटपटि भएको र हत्या गरिएको बताइन् । 

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शुक्रबार बिहान ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का १९ वर्षिय रहेमान अली, सोही स्थानका २६ वर्षिय सुनिल गुरुङ, २८ वर्षिय मुख्तार पठान र २१ वर्षिय धर्मराज अहिर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले जानकारी दिए । पक्राउ गरिएका व्यक्तिहरुले चैत २ गते घनश्यामलाई हातपात तथा कुटपिट गरेको र सोही दिन उनलाई हत्या गरी खेतमा छाडेको थापाले बताए । 

चैत २ गते श्रीमान् सम्पर्कमा नभई बेपत्ता भएकोले खोजतलासको लागि चैत ५ गते गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हुलिया निवेदन समेत दिएकी छु भनी मृतकको श्रीमती शिलाले किटानी जाहेरीमा बताएकोले घटनाको आरोपमा ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।hatyaaa.jpg

घनश्याम कोइरीको हत्याको रहस्य

प्रहरीका अनुसार करिब ८ महिना अगाडी मृतकको परिवार र आरोपित सुनिल गुरूङको परिवारबीच सामान्य झै–झगडा भइ २०७७ साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गरिएको थियो । मृतक र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरुमा बीच समयसमयमा सामान्य वादविवाद पनि हुने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जना लागूऔषध दुव्र्यसनीमा संलग्न रहेको र उनीहरुले लागूऔषधको सेवन गरी विवाद हुँदा हत्या भएको प्रारम्भिक रुपमा देखिएको प्रहरीको भनाइ छ । पक्राउ गरिएको चार जनालाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।