
सोमवार , फाल्गुण २६, २०८१
आजको डिजिटल युगमा सामाजिक सञ्जाल मानिसहरूको विचार, अनुभूति र अनुभव बाँड्ने महत्वपूर्ण माध्यम बनिसकेको छ । यहाँ मानिसहरू हाँसो, रमाइलो, दुःख, पीडा, संघर्ष र सफलता जस्ता हरेक विषयमा खुलेर कुरा गर्छन् । तर, जब कुनै संवेदनशील विषय उठ्छ, विशेष गरी महिलाहरूको स्वास्थ्य वा शारीरिक अवस्थासँग सम्बन्धित कुरा, तब समाजले त्यसलाई सहज रूपमा लिन सक्दैन ।
केही दिनअघि टिकटकमा देखिएको एउटा भिडियोले मलाई गहिरो रूपमा सोच्न बाध्य बनायो । भिडियोमा एक युवती महिनावारीका कारण असह्य पीडामा थिइन् । उनी विदेशमा युनिफर्म (पोशाक) मा काम गरिरहेकी थिइन् । तर, पीडाले उनलाई निकै नै असहज बनाएको थियो । जुन कुरा उनले भिडियोमार्फत सामाजिक सञ्जालमा सेयर गरिन् ।
मैले यो भिडियो हेरेपछि धेरै कारणहरू सोचें, किन उनले यस्तो भिडियो सार्वजनिक गरिन् होला ? हुन सक्छ, उनले आफूसँग उस्तै अनुभव गर्ने अन्य महिलाहरूलाई महसुस गराउन चाहिन् कि उनीहरू मात्र एक्ला होइनन् । हुन सक्छ, उनले समाजलाई महिनावारीको पीडालाई सामान्य ठान्ने सोच बदल्न चाहिन् । वा उनले भन्न खोजेकी हुन सक्छिन् कि, ‘महिनावारी भनेको लुकाउने कुरा होइन, यसबारे खुलेर कुरा गर्नुपर्छ । समाधान खोज्नुपर्छ ।’
तर, जब मैले भिडियोकै कमेन्टहरू हेर्न थालें, म चकित परें । ७०० भन्दा बढी कमेन्टहरू थिए । पुरुषहरूको कमेन्ट सकारात्मक थिए, उनीहरूले सहानुभुति देखाएका थिए । तर, अचम्म लाग्दो कुरा के रह्यो भने, सबैभन्दा नकारात्मक टिप्पणी महिलाहरूबाटै आएको थियो । विशेष गरी शिक्षित र विदेशमा बसेका महिलाहरूले यो विषय सार्वजनिक गर्नु गलत भएको बताइरहेका थिए ।
‘महिनावारीको पीडा टिकटकमा देखाएर के पाइन्छ ?’
‘हामीलाई त घरमा भन्न पनि लाज लाग्छ, सामाजिक सञ्जालमा किन सेयर गर्ने ?’
‘सबैलाई पीडा हुन्छ, मर्नु त पर्दैन ! यस्तो कुरा पोस्ट गर्नु अपरिपक्वता हो ।’
‘अब लाइक्स र भ्युजका लागि महिनावारी नै देखाउनुपर्ने ?’
यी कमेन्टहरूले झन् म छक्क परें । महिनावारीका कारण असह्य पीडा भएपछि त्यसबारे खुलेर कुरा गर्नु अपराध हो त ? सामाजिक सञ्जालमा मान्छेहरूले अनेकथरी विषय सेयर गर्छन्—कसैले रमाइलो नाचेको भिडियो हाल्छन्, कसैले मदिरा, चुरोट, गाजा सेवन गरेको देखाएर भ्युज कमाउने प्रयास गर्छन्, कसैले अर्कोलाई गालीगलौज गर्छन् । यस्ता कुराहरू सामान्य ठानिन्छन् । तर, एउटी महिलाले आफ्नो शारीरिक पीडा सेयर गर्दा भने, ‘लाइक र भ्युजका लागि यस्तो गरियो’ भन्ने आरोप लगाइन्छ ।
यस्ता टिप्पणीहरू पढ्दा मनमा प्रश्न उठ्यो—महिलाहरू नै महिलाको पीडाप्रति यति असंवेदनशील किन ? महिनावारीको पीडा कसैलाई थोरै हुन्छ, कसैलाई असह्य हुन्छ । कोही सामान्य रूपमा काम गर्न सक्छन्, तर कोहीका लागि ठूलो संघर्ष हुन्छ । यस्तो अवस्थामा सहानुभूति देखाउनुको सट्टा महिलाहरू नै महिलालाई हतोत्साहित गर्न अग्रसर छन् भने, ‘समाजले यसलाई कहिले सकारात्मक रूपमा लिन्छ ?’
महिनावारी प्राकृतिक प्रक्रिया हो । यो कुनै लाजको कुरा होइन । बरु, यसबारे खुलेर कुरा गर्दा मात्र सही समाधान खोज्न सकिन्छ । अझै पनि हाम्रो समाजमा महिनावारीका कारण कतिपय किशोरीहरू विद्यालय जान पाउँदैनन् । कतिपय ठाउँमा महिनावारी हुँदा छोरीलाई घरबाहिर बस्न बाध्य पारिन्छ । महिनावारीबारे खुलेर कुरा गर्नु लाजमर्दो होइन, यो जरुरी छ ।
यदि शिक्षित महिलाहरूले नै महिनावारीबारे खुलेर बोल्न हिच्किचाउँछन् भने, हामीले कस्तो समाज निर्माण गर्दैछौं ? हामी किन यस्तो विषयबारे लुक्न खोज्छौं ? हाम्रो असहजता र मौनताकै कारण महिनावारी अझै पनि एउटा निषेधित विषयजस्तो ठानिन्छ । हामी आफैं यसबारे कुरा गर्न लजाउँछौं भने, भविष्यका पुस्तालाई हामी के सिकाउने ?
यदि महिनावारी सामान्य कुरा हो भने, यसबारे कुरा गर्न किन असहज महसुस गरिन्छ ? यदि पीडा असह्य छ भने, समाधान खोज्न किन अप्ठ्यारो मानिन्छ ? जबसम्म महिलाहरू नै महिलाको समस्या बुझ्दैनन्, तबसम्म समाजमा सकारात्मक परिवर्तन सम्भव छैन । अब महिनावारीबारे खुलेर कुरा गर्ने, बुझ्ने, र सहानुभूति देखाउन जरूरी छ । किनभने, यो कुनै गोप्य कुरा होइन—यो हरेक महिलाको वास्तविकता हो । महिला भएर महिलाले नै महिलालाई निर्णय गर्ने संस्कार अब बदल्न जरुरी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij