२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमा असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डको प्रारम्भिक सूचीमा

सोमवार , फाल्गुण २६, २०८१

तिलोत्तमा, २६ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागीतामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । अर्जेन्टिनाको इन्टरनेशनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडिपी) संस्थाले गर्ने २४ औं संस्करणको अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको नगरप्रमुख (मेयर) रामकृष्ण खाणले बताए । 

मेयर खाणका अनुसार अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको हो ।

ओआइडिपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँचवटा विषयमा आवेदन माग गरेकोमा तिलोत्तमा जनसहभागीतामा सञ्चालित सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान अन्तर्गत प्रारम्भिक सूचीमा परेको उनले जानकारी दिए । 

छनोट भएका ४० स्थानीय र प्रदेश सरकारबीच अनलाइन भोटिङको ५० अंक र निर्णायकको मूल्यांकनको ५० अंकको आधारमा आगामी मे महिनाको २१ देखि २३ तारिखसम्म अर्जेन्टिनाको कोर्डोबामा हुने ओआइडिपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड विजेता घोषणा गरिने ओआइडिपीको वेबसाइटमा उल्लेख छ । 

तिलोत्तमा प्रारम्भिक सूचीमा परेपछि अनलाइन भोटिङमार्फत मत दिएर जिताउन नेपालभर र विश्वभर रहेका नेपालीलाई मेयर खाणले अपील गरेका छन् । ओआइडिपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्नेछ । अनलाइन भोटिङ गर्दा एकजनाले पाँचवटै विषयमा मत दिनुपर्ने अन्यथा मत रद्द हुने नियम रहेको छ । ओआइडिपीको वेबसाइटमै गएर मत दिन सकिनेछ ।

तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागीतामा सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान गर्दै आएको छ । आठौं वर्षमा निरन्तर चल्दै आएको अभियानको १ सय ४० औं श्रृंखला सम्पन्न भएको मेयर खाणले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाका निर्वतमान नगरप्रमुख समेत रहेका प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै पालिकाहरुले यसैगरी लगावका साथ काम गर्ने हो भने सफा र सुन्दर नेपाल सम्भव रहेको बताए । उनले भने–‘परिश्रमको फल मिठो हुन्छ ।’